ताजा समाचार

वर्षाले डढेलो नियन्त्रणमा राहत

काठमाडौं । हिउँद लागेपछि नेपालमा डढेलोले ठूलो रूप लिन्छ, ठूलो जनधनको क्षति हुँदै आएको छ । नेपालमा अहिले डढेलोको प्रकोप छ, ६ चैतमा मात्रै देशभरि ३९ ठाउँमा आगलागी हुँदा १४ वटा वनमा डढेलो लागेको थियो । मंगलबार आगलागीबाट एक जनाको मृत्यु भयो ।

पूर्वी पहाड, मधेश र बागमती प्रदेशमा लागेको डढेलो मंगलबार राति र बुधबार बिहान परेको पानीले नियन्त्रणमा राहत मिलेको छ ।
‘अधिकांश स्थानमा डढेलो नियन्त्रण गर्न सकस परिरहेका बेला हल्का वर्षाले पनि धेरै राहत मिलेको छ । पानी नपर्दा सुक्खा भएर ह्वात्तै बढ्ने आगो नियन्त्रण लिन सजिलो हुन्छ,’ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका एक अधिकारीले भने, ‘केही स्थानको डढेलो निभेको समेत छ ।’

उनका अनुसार विशेषगरी कोशी प्रदेश पहाडी क्षेत्रमा आगलागी घटना बढिरहेको बेला पानी पर्दा ठूलो राहत मिलेको हो ।
प्राधिकरणका अनुसार यो वर्ष वैशाखदेखि ६ चैत मंगलबारसम्म ३ सय २१ ठाउँमा वन डढेलो लागेको थियो । जसबाट पाँच जनाको मृत्यु भएको छ भने १७ जना घाइते छन् ।

जसमध्ये अधिकांश चैत लागेपछिका घटना हुन् । प्राधिकरणका अनुसार यो वर्ष ४३ घरपरिवार डढेलोबाट प्रत्यक्ष प्रभावित भएका छन् । डढेलोबाट मात्रै ५७ लाख २५ हजार रुपैयाँ बराबर क्षति भएको अनुमान गृह मन्त्रालयले गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org