ताजा समाचार

बाँसबारी जग्गा प्रकरणमा कांग्रेस सांसद विनोद चौधरीको बयान जारी

काठमाडाैँ ।  बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हिनामिना प्रकणमा नेपाली कांग्रेसका सांसद विनोद चौधरीको बयान सुरु भएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनीमाथि अनुसन्धान भइरहेको जानकारीसहितको पत्र सभामुख देवराज घिमिरेलाई पठाएको एक दिनपछि उनको बयान सुरु भएको हो । सभामुखलाई चौधरीमाथि अनुसन्धान भइरहेको जानकारी गराएपछि उनलाई बयानका लागि बोलाइएको स्रोतले जानकारी दिएको छ ।

त्यसपछि आज सरकारी वकिलको कार्यालयमा चौधरीको बयान लिने कार्य भइरहेको छ । चौधरी स्वयं आज बिहान सीआईबीबको सम्पर्कमा पुगेका थिए । त्यसपछि सरकारी वकिलसँगको समन्वयमा उनको बयान लिइएको हो । उनी आज बिहान सरकारी वकिलको कार्यालयमा उपस्थित भएका थिए ।

यो जग्गा प्रकरणमा सीआईबीले अनुसन्धान गरिरहेको छ । यसअघि चौधरीका भाइसमेत रहेका उद्योगपति अरुण चौधरीलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको थियो । तर, उनी भने अदालतको आदेशबाट रिहा भएका छन् ।

बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा कीर्ते गरी निजी बनाएको भन्दै सीआईबीले अनुसन्धान गरिरहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org