ताजा समाचार

चितवनमा आदिवासी जनजाति सांस्कृतिक महोत्सव सुरु हुँदै

काठमाडौं । नारायणी नदी किनारमा आजदेखि आदिवासी जनजाति सांस्कृतिक महोत्सव सुरु हुने भएको छ । नेपाल आदिवासी जनजाति महासङ्घ (नेफिन) जिल्ला समन्वय परिषद् चितवनको आयोजनामा आजदेखि चैत १८ गतेसम्म महोत्सव सञ्चालन हुनेछ ।

महोत्सवको उद्घाटन हुनुपूर्व आज बिहान नारायणगढको क्याम्पाचौरबाट झाँकीसहितको बृहत् ¥याली निकालिएको महोत्सव मूल आयोजक समितिका संयोजक महेन्द्र दुराले जानकारी दिनुभयो ।

महोत्सवमा विभिन्न जातजातिका घर निर्माण गरिएको छ । नदी किनारमै बनाइएको गाउँमा चितवनका ११ वटा आदिवासी जनजाति समुदायको जातीय पहिचानसहितको गाउँ निर्माण गरिएको हो । नदी किनारको गाउँमा गुरूङ, दुरा, थारू, चेपाङ, भुजेल, कुमाल, राई, दराई, मगर, बोटे र तामाङ समुदायले घर बनाएका छन् । चितवन जिल्लामा १७ वटा आदिवासी जनजाति समुदाय सङ्गठित भए पनि हाललाई ११ वटा जातिले घर निर्माण गरेर नारायणी नदी किनारमै आदिवासी जनजाति समुदायको साझा गाउँ बनाएको संयोजक दुराले बताउनुभयो ।

आदिवासी जनजाति समुदायको गाउँ प्रमुख आकर्षणको केन्द्र बन्ने आयोजकको उहाँको भनाइ छ । उहाँलेले भन्नुभयोे, “एकै ठाउँमा सबै जातिको घरसहित संयुक्त गाउँ नै बनेको छ, जनजातिको घर र आदिवासी जनजातिहरुले प्रयोग गर्ने परम्परागत सामग्री तथा औजार प्रमुख आकर्षण बन्नेछ ।”

महोत्सवको प्रवेशद्वार नजिकै बनाइएको मिनी चितवनमा प्रवेश गरिसकेपछि मौलिक घरमात्र नभई आदिवासी जनजाति समुदायले प्रयोग गर्ने सरसामानसमेत राखिएको छ । यसले समग्रमा महोत्सवलाई नै आदिवासी जनजाति समुदायको सांस्कृतिक सङ्ग्रहालयको परिचय दिनेमा आयोजक समिति विश्वस्त छ ।

नेपालमै पहिलोपटक यो तहको महोत्सव आयोजना गरेर चितवनका आदिवासी जनजाति समुदायले इतिहास कायम गर्ने प्रयास गरिएको संविधानसभाका सदस्य एवं नेपाल चेपाङ सङ्घका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङले बताउनुभयो । यस महोत्सवले आदिवासी जनजाति समुदायका मौलिक परम्परा हराउँदै गएको अवस्थामा नयाँ पुस्तालाई आफ्नो जाति र समुदायबारे परिचित गराउने उहाँको भनाइ छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org