ताजा समाचार

सहकारी ठगीमा रवि लामिछानेको नाममा उजुरी आएपनि तथ्य–प्रमाण भेटिएनः आईजीपी कुँवर

काठमाडाैँ । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) वसन्त कुँवरले पोखरामा भएको सहकारी ठगीका विषयमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध ठाडो उजुरी आएको भएपनि कुनै तथ्य र प्रमाण नभेटिएको बताएका छन् ।

बुधवार राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले ठाडो उजुरीमा नाम रहेकाहरू कानूनी दायरामा पर्ने अवस्था नरहेको स्पष्ट पारे ।   आईजीपी कुँवरले पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा सञ्चालक गीतेन्द्र (जीबी) राई नै मुख्य दोषी रहेको बताए ।

‘सहकारी ठगीका विषयमा रवि लामिछानेमाथि ठाडो उजुरी मात्रै परेको हो, थप प्रमाणपत्र आएको छैन,’ उनले भने, ‘जीबी राईका कारण नै मुख्य समस्या आएको हो ।’

आईजीपी कुँवरले राई मलेसिया रहेको जानकारी आफूहरूले पाएको पनि खुलासा गरे । तर सुपुर्दगी सन्धि नभएकाले सहयोग गर्न मलेसिया सरकार बाध्य नभएको उनको भनाइ छ ।

‘नेपालको मलेसियासँग सुपुर्दगी सन्धि भएको छैन । यसर्थ मलेसिया सरकार उनलाई यहाँ पठाउन बाध्य छैन,’ उनले भने, ‘हामी रेड कर्नर नोटिसमार्फत् इन्टरपोललाई आग्रह गरेका छौं । अहिलेसम्म उसले सहयोग गरेको छैन ।’

अर्को प्रशंगमा आईजीपी कुँवरले पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महरालाई कुनै दबाबको प्रभावमा नछाडी स्वास्थ्य जटिलताले छाडेको दाबी गरे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org