ताजा समाचार

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग

काठमाडौं । चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि यहाँका बचतकर्ताले सहकारीमा जम्मा गरेको बचतलाई सुरक्षित गर्न आग्रह गरेका छन् । नेपाली काङ्ग्रेस चितवनको सहकारी विभागले पूर्वी क्षेत्र रत्ननगर र पश्चिमी क्षेत्रको भरतपुरमा आयोजना गरेको सहकारी संस्थासम्बन्धी अन्तरक्रियाका वक्ताले सहकारी पीडितको पीडा सुन्ने निकाय नै मौन बस्दा पीडितका समस्या अझै बल्झिदै गएका बताए ।

पीडित बचतकर्ताले सहकारी कुन दिन बन्द हुन्छ भन्ने चिन्तामा आफूहरु रहेको बताए । उहाँहरुले जिल्लामा नै केन्द्रीय कार्यालय भएर सञ्चालन भएका सहकारी केही हदसम्म जिम्मेवार बनेको भए पनि शाखाका रुपमा स्थापना भएका सहकारीलाई विश्वास गर्न नसक्ने वातावरण बनेको उल्लेख गरे । सहकारी पीडित शालिग्राम दुवाडीले जनताको पैसा एउटा सञ्चालक वा व्यवस्थापकले अपचलन गरेर हिँड्दा जनताको उठीबास भएको बताउनुभयो ।

एउटै व्यक्ति पटक पटक अध्यक्ष भइरहँदा समस्या आएको उहाँको भनाइ थियो । साहरा सहकारीले मात्रै रु ८५ करोड हिनामिना गरेको दुवाडीले आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘सहकारी पीडितको समस्या समाधान नभएसम्म जनताले सुःख पाउँदैनन् ।’

यसैगरी, अर्का पीडित तुलसीराम सापकोटाले समाज अहिले सहकारी पीडितको कुरामा केन्द्रित हुन नसकेको बताउनुभयो । सहकारी पीडितका कुराको सुनवाइ नभएको उहाँको गुनासो थियो ।

त्यस्तै सुरेशजङ्ग पाण्डेले शिव शिखर सहकारीमा रु ६८ करोड अपचलन भएको बताउनुभयो । पछिल्लो समय चितवनलगायत देशैभर देखिएका बचत तथा ऋण सहकारी संस्था सम्बन्धी विविध समस्याको समाधान सरकारले तत्काल खोज्र्नुपर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा बिकु बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद पौडेलले कार्यपत्र प्रस्तुत गर्दै सञ्चालकको मनपरीका कारण धेरै सहकारीमा समस्या देखिने गरेको बताउनुभयो । सहकारी संस्थाले सहकारीमा सङ्कलन भएकामध्ये ९० प्रतिशत रकम आफ्नो प्रयोजनमा खर्च गर्दा समस्या बढ्दै गएको जानकारी दिुभयो । सहकारीलाई नियमन गर्ने निकाय नै कमजोर हुँदा सञ्चालक र ऋणीले मनपरी गर्ने गरेको उहाँको भनाइ थियो ।

कांग्रेस चितवनका सहकारी विभाग प्रमुख कमला दवाडीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कांग्रेस जिल्ला सभापति राजेश्वर खनाल, बागमती प्रदेशसभा सदस्य बिनु रायमाझी पौडेल, जिल्ला सहकारी सङ्घका अध्यक्ष भक्तिराम अधिकारीलगायतले वर्तमान समयमा सहकारीमा देखिएका समस्या समाधानका लागि सरकारले चासो दिनुपर्ने बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org