ताजा समाचार

पहिरोले बगाउँदा दुईवटा बस त्रिशूलीमा खसे, अर्को बसमा ढुंगा लाग्दा चालकको मृत्यु

काठमाडौं । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाउँदा दुईवटा बस त्रिशूली नदीमा बेपत्ता भएका छन् । ती बसमा चालकसहित झण्डै ६५ जना यात्रु रहेका प्रहरीले जनाएको छ । घटनास्थलमा पुग्नुभएका चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवकाअनुसार आज बिहान साढे ३ बजे दुईवटा बस त्रिशूलीमा खसेका हुन् ।

उहाँकाअनुसार काठमाण्डौबाट रौतहटको गौरको लागि छुटेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाण्डौको लागि छुटेको गरेको एञ्जल बस त्रिशूलीमा खसेका हुन् । प्रजिअ यादवकाअनुसार गौर जाँदै गरेको बसमा ४१ र काठमाण्डौका लागि छुटेकाे बसमा २४ जना यात्रु रहेका थिए । उहाँले ती बसमा रहेका यात्रुको यकिन विवरण प्राप्त भइ नसकेको बताउनुभएको  छ ।

यसैबीच मुग्लिन–नारायणगढ सडकखण्डकै १७ किलोमा अर्को बसमा पहिरोबाट झरेको ढुङ्गाले लागेर चालकको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी भेषराज रिजालले सञ्चारमाध्यमलाइ दिनु  भएको जानकारीअनुसार बिहान तीन बजे पहिरोबाट आएको ढुङ्गाले लागेर बसका चालकको निधन भएको हो ।

बुटवलबाट काठमाण्डौको लागि छुटेको लु २ ख ६५६६ नम्बरको बसमा ढुङ्गा लाग्दा गम्भीर घाइते भएका चालक नवलपरासीका मेघनाथ विकको उपचारका क्रममा चितवन मेडिकल कलेजको शिक्षण अस्पतालमा ज्यान गएको उहाँले जानकारी दिनुभयो । घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन भएको छ । पहिरोले कालीखोला, सिमलताल र फिस्लिङमा सडक अवरुद्ध भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org