ताजा समाचार

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान पुनः सुचारू

काठमाडौं । बिहीबारदेखि अवरूद्ध रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान पुनः सुचारू भएका छन्। बिहीबार राति ९ बजेर ४० मिनेटको समयमा बुद्ध एयरको विमान अवतरण गर्ने धावनमार्गमा चिप्लिएपछि विमानस्थलमा अरू जहाजहरू पनि अवतरण र उडान गर्न सकेका थिएनन्।

शुक्रबार साढे १० बजेपछि विमानस्थलबाट तीन वटा जहाजले उडान भरेका हुन्।विमानस्थलका अधिकृत विनोदसिंह रावतले बिहीबार साँझ काठमाडौंबाट भैरहवा आएका तीन वटा जहाज काठमाडौंका लागि उडान गरेको जानकारी दिए।

‘अवतरणको गर्ने क्रममा धावनमार्गबाट चिप्लिएको जहाजका कारण बिहीबार रातिदेखि शुक्रबार बिहानसम्म कुनै पनि जहाज अवतरण र उडान हुन सकेका थिएनन्, अहिले भने बिहीबार राति नै यहाँ आएका बुद्ध एयरका दुई वटा र एउटा यती एयरको जहाज काडमाडौंका लागि उडिसकेका छन्,’ रावतले भने।

उनले भैरहवाबाट उडान गरे पनि अवतरण भने अझै हुन नसकेको बताए।
‘यहाँ आउने जहाजहरूको अवतरणका लागि पनि प्रयास भइरहेको छ, चिप्लिएको बुद्ध एयरको जहाजको पखेँटाले धावनमार्ग छोए पनि ठूलो धावनमार्ग भएकोले न्यारोबडीका जहाज अवतरण गर्न सक्छन्,’ उनले भने।

रावतका अनुसार धावनमार्गमा चिप्लिएको बुद्ध एयरको यु फोर ८०५ विमान धावनमार्गभन्दा ५ मिटर बाहिर घाँसे मैदानमा पुगेको छ। विमानमा रहेका सबै यात्रु सकुशल अवतरण गरे पनि विमानको अगाडिको भाग घाँसे मैदानमा धसिएको छ।

‘विमानको अगाडि पट्टिको बडीले भुइँमा छोएका कारण सुरक्षित निकाल्ने प्रयास भइरहेको छ, निकाल्ने क्रममा विमानमा थप क्षति नहोस् भन्ने हिसाबले बुद्ध एयर, नेपाल वायुसेवा निगम र विमानस्थलका प्राविधिकहरूले प्रयास गरिरहेका छन्,’ उनले भने।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org