ताजा समाचार

प्रधानमन्त्री प्रचण्डले नयाँ सत्तासाझेदारलाई दिए चेतावनी,भने- संविधान संशोधनमा खेलाँची नगर्नुहोला

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन जटिल र संवेदनशील विषय भएको भन्दै खेलाँची नगर्न कांग्रेस–एमालेलाई चेतावनी दिएका छन्। उनले राष्ट्रियसभामा माओवादी पहिलो दल रहेको स्मरण समेत गराए ।

प्रतिनिधिसभामा विश्वासको मत लिने प्रस्ताव पेश गर्दै प्रधानमन्त्री प्रचण्डले संविधान संशोधन गरेर कांग्रेस र एमाले ०४७ कै वरिपरि फर्किन खोजेको आरोप लगाए ।‘संविधान संशोधन जस्तो जटिल र संवेदनशील विषयमा खेलाँची नगर्नुहोला’उनले चेतावनीको भाषामा भनेका छन्,‘राष्ट्रियसभामा सबभन्दा ठूलो दल माओवादी केन्द्र हो । त्यसलाई किनारा लगाएर गर्नुहुन्छ संविधान संशोधन ?’

स्थिरताको नाममा समावेशी,समानुपातिक प्रतिनिधित्व समाप्त पार्न खोजेको षड्यन्त्रको गन्ध आएको उनले बताए । उनले भने, ‘तपाईंहरुको इच्छा ०४७ सालकै वरिपरि फर्किने होला भन्ने लाग्छ मलाई।’

कांग्रेस र एमालेले केही पश्चिमा देशको नक्कल गरेर नेपाललाई पनि दुई दलीय बनाउन खोजेको ‘ओपन सेक्रेट’ जस्तै रहेको भन्दै उनले साना दलहरुले किन समर्थन गरेको बुझ्न नसकेको बताए ।

उनले संविधान संशोधन गर्ने भए आफूहरु तयार रहेको भन्दै केही प्रस्ताव समेत अघि सारेका छन् । ‘संविधान संशोधन गर्ने हो भने आउनुस्, खुला छलफल गरौं,’ उनले भने, ‘प्रत्यक्ष निर्वाचित कार्यकारीमा जाऔं, दलित र महिलाको प्रतिनिधित्व अझै बढाऔं मेरो प्रस्ताव छ ।’

दलित समुदायको जनसंख्याको आधारमा अनिवार्य प्रतिनिधित्व सुनिश्चित गर्ने माओवादीको प्रस्ताव भएको उनले बताए । संविधान संशोधन नै गर्ने भए मेरो अर्को प्रस्ताव छ भन्दै उनले भने, ‘आधा आकास भाषणमा मात्र सीमित नगरौं । प्रतिनिधित्व नै सुनिश्चित गरौं । हामी पुरुषहरुले के लाछारेका छौं र अहिलेसम्म महिलालाई अविश्वास गर्न रु राज्यका हरेक अंगमा महिलाको ५० प्रतिशत सुनिश्चित हुने गरी संविधान संशोधन गरौं ।’

तर उत्पीडित जाती, वर्ग र समुदायलाई प्रतिनिधित्वविहीन बनाउने षड्यन्त्र किमार्थ सफल नहुने उनले बताए। उनले चेतवनी पनि दिए,‘सहमति नाघेर,छलछाममा लागेर संविधान संशोधनका नाममा राष्ट्रलाई द्वन्द्वतिर लैजाने दुस्साहस नगर्नुहोला ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org