ताजा समाचार

विभिन्न ठाउँमा ठूलो वर्षा, खोलानदीमा बाढीको जोखिम कायमै

काठमाण्डौ । देशका विभिन्न ठाउँमा गएराति अति ठूलो पानी परेको छ । बितेको १२ घण्टामा सिन्धुपाल्चोकको मानेखर्कमा एक सय ४१ मिलिमिटरभन्दा धेरै वर्षा मापन भएको छ । यस्तै सिन्धुपाल्चोककै गुम्थाङ, ढुङ्गे, गोरखाको बारपाक, लमजुङ्गको घरेढुंगा, कुदिबजार लगायतका ठाउँमा पनि अति ठूलो पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले विभिन्न नदीमा पानीको बहाव बढेको भन्दै सावधानी अपनाउन भनेको छ । सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदी तथा यी नदीका सहायक नदीमा बाढीको उच्च जोखिम छ । यस्तै लमजुङको खुदीखोला लगायत आसपासमा, गोरखाको दरौदी खोलालगायत आसपासमा सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ । यस्तै काठमाण्डौको धोबीखोला, विष्णुमती नदी, लेले खोला, गोदावरी खोलाको जलसतह पनि बढेको छ ।

मकवानपुरको लाल बकैया खोल र आसपासमा पनि बिहानसम्मै सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । आज बिहानदेखि काठमाण्डौ उपत्यका र काठमाण्डौभन्दा पूर्वतर्फ धेरैजसो ठाउँमा पानी पर्नेक्रम केही कम भएको छ । अहिले गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसैबीच आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहेर लुम्बिनी प्रदेशको एक दुई ठाउँ तथा बाँकी प्रदेशका केही ठाउँमा हल्कादेखी मध्ययम वर्षाको सम्भावना छ । यस्तै भरे राती कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुइ ठाउँमा अति ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org