ताजा समाचार

नेपाल एयरलाइन्सले सिड्नीदेखि काठमाडौँसम्म सिधा उडान गर्ने

काठमाडौं । यही दशैंदेखि अस्ट्रेलियाको सिड्नीबाट यहाँ रहेका नेपालीले आफ्नै बिमानमार्फत नेपालको यात्रा तय गर्ने पाउने भएका छन् । नेपाल एयरलाइन्सले सिड्नीदेखि काठमाडौँसम्म सिधा उडान सुरु गर्ने बिषयमा नेपाल तथा अस्ट्रेलियाका उच्च अधिकारीबीच सिड्नीमा छलफल भएको छ ।

अस्ट्रेलिया-नेपाल सीधा हवाई उडान गर्ने बिषयमा करिब ५ वर्षअघि दुईदेशका बीचमा आपसी सहमति भएको थियो । विशेष गरेर कोरोनाकालमा नेपाल एयरलाइन्सले आफ्नै विमान मार्फत आफ्ना नागरिकलाई अस्ट्रेलियाबाट उद्धार गरेर लगेपछि सिधा उडान हुने बिषयमा यहाँका नेपाली थप आशावादी बनेका थिए ।

डेढ वर्षदेखि छलफलले थप तीब्रता पाएपछि अब आगामी दशैँबाट यहाँका नेपालीले आफ्नै जहाजबाट स्वदेश यात्रा गर्न पाउने सम्भावना बढेको छ । यसकालागि दुई देशका बिभिन्न तहका उड्डयन प्राधिकरण, नियमन निकाय तथा अन्य सम्बन्धित अधिकारीबीच लामो समयदेखि छलफल तथा गृहकार्य हुँदै आएको छ । पछिल्लो पटक नेपाल एयरलाइन्सका चार उच्च अधिकारीले सिड्नी आएर संवाद गरेका छन् ।

नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारी, मार्केटिङ्ग निर्देशक टेकनिधि दहाल, अपरेसन निर्देशक दीपुराज जुहार्चन र बोर्ड सदस्य किशोर प्रधान अष्ट्रेलिया आएका छन् । उनीहरुले यहाँस्थित सिभिल एभिएसन सेफ्टी अथोरिटी ९कासा०, पूर्वाधार बिभाग, बिदेश मन्त्रालयका अधिकारी तथा गृहमन्त्रीका प्रतिनिधीसँग बिभिन्न छलफल समेत गरेका छन् ।

अधिकारीहरुका अनुसार अस्ट्रेलियाको उड्डयन प्राधिकरण तथा पुर्वाधार बिभागको अनुरोधमा अस्ट्रेलिया आएको नेपाली टोलीले ‘टेक्निकल एसेसमेन्ट’ को बिषयमा केही कुरा टुंग्याउन बाँकी रहेको जनाएका छन् । ‘फाईनल एप्रुभल आएपछि यही दशैंदेखि नेपाली विमानले सिड्नीसँग सिधा उडान गर्ने योजनामा हामी विस्वस्त छौं,’ नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष अधिकारीले कान्तिपुरसँग भने । उनले छलफल सौहार्दपुर्ण र सफल भएको जानकारी दिँदै अब सबै कुराहरु टुङ्गिनेक्रममा रहेको बताए ।

अस्ट्रेलिया(नेपाल सिधा उडान गर्ने बिषयमा करिब डेढ वर्षदेखि द्विदेशीय छलफल भइरहेको छ । सिड्नीको किङ्सफोर्ड अन्तर्रास्ट्रिय विमानस्थलदेखि साताको दुईवटा उडान गर्ने गरी प्रारम्भिक चरणमा ग्राउण्ड स्लट समेत लिइसकिएको छ भने उडानका लागि आवश्यक पर्ने अधिकांश सम्झौता भइसकेका छन् ।

कार्यकारी अध्यक्ष अधिकारीले उडान सुरु गर्ने विषयमा देखिएका समस्या समाधानका लागि नै आफूहरु अस्ट्रेलिया आएको र समस्या समाधान भएको दाबी गरे । सन् २०१९ मा क्यानडामा दुई देशबीचमा सिधा हवाई उडान गर्ने बिषयमा सहमति भएको थियो । सहमतिअनुसार अस्ट्रेलियाका मुख्य शहर सिड्नी, मेलबर्न, ब्रिसबन र पर्थबाट साताको सातवटा उडान नेपालको त्रिभुवन अन्तर्रास्ट्रिय विमानस्थलमा अवतरण हुनेछन् भने अस्ट्रेलियास्थित विमानसेवाले नेपालको त्रिभुवन अन्तर्रास्ट्रिय विमानस्थलमा साताको ७ वटा र अन्य विमानस्थलमा साताका २८ वटासम्म उडान गर्न सक्नेछन् ।

यता द्विदेशीय सहमतिअनुसार अस्ट्रेलियाली विमान कम्पनीले नेपाल उडान गर्ने बिषयमा भने अहिलेसम्म कुनै बिस्तृत योजना तथा जानकारी बाहिर आएको छैन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org