ताजा समाचार

बीपी प्रतिष्ठानका भिसीको कमिसन कर्तुत छताछुल्ल, भवन नबन्दै करोडौंका उपकरण खरिद

भेन्टिलेटर खरिदमा अनियमितता

(सजीव कालाखेती)

काठमाण्डौँ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति (भिसी) ज्ञानेन्द्र गिरी भ्रष्टाचारमा चुर्लुम्म डुबेका छन् । आर्थिक बर्ष २०७९/८० को असारे बजेट सिध्याउन मातृशिशु भवन नबन्दै १० करोड रुपैयाँ बराबरका २० वटा भेन्टिलेटर खरिदमा अनियमितता गरेका हुन् ।

भिसी गिरीले इटहरीको एमबिएम सर्जिक एन्ड डेन्टल हाउस प्रालिका सञ्चालकसँग मिलेमतो गिरी चाखलाग्दो भ्रष्टाचार गरेका छन् । एमबिएमले आफू अनुकुलको स्पेशीफिकेसन बनाएर सेटिङमा प्रतिष्ठानलाई भेन्टिलेटर हस्तान्तरण गरेको छ । खरिद प्रक्रियामा एमबी मेडिटेक प्रालिले बोलपत्र पेस गरेपनि देुवै कम्पनीको निर्देशक एकै व्यक्ति सन्दीप राउत हुन् । त्यसबाट पनि प्रष्ट हुन्छ कि भिसी गिरीले कहाँसम्मको सेटिङ गरेका छन् ।

सिङ्गापुरको कम्पनी मेट्रोनिक्सको सिग्नेचर र छाप नै किर्ते गरेर एमबिएमका राउतले सामान खरिदको प्रक्रिया अगाडि बढाएको खुलेको छ । एमबिएम कुनै आधिकारिक विक्रेता पनि नभएको र टेण्डर हाल्न समेत सक्षम नभएको अवस्थामा भिसी गिरीको सेटिङमा सम्पूर्ण काजजात मिलाउने, खरिद गर्न भुक्तानी दिने काम भएको हो ।

गिरीको मिलेमतोमा तत्कालिन लेखा प्रमुख मोहन राई, निर्देशक जगतनारायण प्रसाद, खरिद शाखाप्रमुख सागर ताम्राकार, मुल्यांकन समिति संयोजक डा प्रमेन्द्र गुप्ता, मेडिकल स्टोरका संजिब कर्ण र इल्क्ट्रोमेड शाखा प्रमुख राहुल मिश्रले सेटिङ मिलाएर भेन्टिलेटर खरिद गरेका हुन् । खरिद गरिएका भेन्टिलेटर चेकजाँच नगरि थन्काइएको छ ।

मातृशिशु भवनको लागि ९ करोड ८६ लाख ४९ हजार रुपैयाँमा २० वटा भेन्टिलेटर खरिद गरेका भिसी गिरीले उपकरणको गुणस्तर समेत जाँच गरेका छैनन् । भवनका लागि खरिद भएका भेन्टिलेटर थन्किएकोे विषयमा छानबिन गर्न गठिन समितिले बुझाएको प्रतिवेदनले पनि खरिद प्रक्रियामा अनियमितता देखाएको थियो ।

भेन्टिलेटर खरिदमा सेटिङ भएपछि २०८० साउन २४ गते ७ सदस्यीय छानबिन समिति गठन भयो । सो समितिले दुई साता लगाएर प्रतिवेदन तयार पार्यो । प्रतिवेदनमा निर्माणाधिन भवनको लागि आवश्यक उपकरणहरुमध्ये उक्त भेन्टिलेटरहरु प्राथमिकतामा पर्ने कुनै आधार नदेखिएको प्रष्ट उल्लेख छ ।

रकमको विनियोजन गर्नुपर्ने अवस्थाबारे प्रश्न उठाइएको प्रतिवेदनमा पनि खरिद गर्न लागिएको २० थान भेन्टिलेटरहरु निर्माणाधीन भवनमा जडान तथा संचालन गर्न चाहिने पूर्वाधारहरुको बिषयमा कुनै जानकारी नलिइएको उल्लेख छ । सार्वजनिक खरिद ऐन २०६३ विपरीत खरिद र भुक्तानी भएको प्रतिवेदनमा जनाइएको छ ।

प्रतिष्ठानमा भेन्टिलेटर २०७९ भदौ ३१ गते आइपुगेपछि मात्रै अस्पताल निर्देशक जगत नारायण प्रसादले मातृशिशु भवनको बारेमा जानकारी दिन इन्जिनियरलाइ निर्देशन दिएका थिए । उनको निर्देशनअनुसार २०७९ असोज ११ गते सिभिल इन्जिनियरिङ शाखाले भवन निर्माण सम्पन्न हुन २०७९ को चैतसम्म लाग्ने बताएको थियो । तर २०८१ सालको साउन अन्त्यसम्म पनि भवन निर्माण सम्पन्न हुन सकेको छैन । हाल सोही बिषयमा अख्तियारमा मुद्धा बिचाराधिन अवस्थामा छ ।

यो पनि हेर्नुहोस् :

बीपी प्रतिष्ठानका पूर्वउपकुलपति गिरीविरुद्ध भ्रष्टाचारको आरोपमा अख्तियारमा उजुरी दर्ता

https://newsnepal.com/archives/171273?fbclid=IwAR3p1TFev1LGG5r2oKnQ1W1TckKwdAIBaZTPdl_D-h-pjsytR5kx0yJvIOQ_aem_AWC4WYVYCxhut-Ff0oN3swSoPHFMMJQxhP0Ihn7ONFmxKe5GtcneRlTnhg389x1WEGw

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org