ताजा समाचार

विर्तासिटी अस्पतालबाट एक थुनुवा फरार

काठमाडौं । इलाका प्रहरी कार्यालय अनारमनीका एक थुनुवा हतकडी फ्याँकेर अस्पतालबाट फरार भएका छन् । फरार भएका थुनुवा दमकस्थित बेलडाँगी शरणार्थी शिविरको सेक्टर जीथ्रीका भुटानी शरणार्थी २५ वर्षीय विशाल राई रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णबहादुर चन्दका अनुसार राई लागू औषध मुद्दामा यही भदौ २ गते बिर्तामोड बसपार्कबाट एक ग्राम ४४ मिलिग्राम ब्राउनसुगरसहित पक्राउ परेका थिए । अदालतबाट पाँच दिनको म्याद थपेर उनीमाथि अनुसन्धान भइरहेको थियो । हिरासतमा रहँदा अत्याधिक पेट दुखेको बताएपछि राईलाई मंगलबार अपराह्‍न ४ बजेतिर बिर्तामोडको पूर्णटुङ्ग विर्तासिटी अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । हतकडी लगाइएका थुनुवा राईको सुरक्षामा प्रहरी हवल्दार बमबहादुर राई खटिएका थिए ।

सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई छलेर थुनुवा राई हतकडी फ्याँकेर अस्पतालबाट फरार भएका थिए । इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टको नेतृत्वमा परिचालित प्रहरी टोलीले फरार थुनुवा राईको खोजी गरिरहेको जनाइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org