ताजा समाचार

लोकतान्त्रिक व्यवस्था बचाउन र स्थायीत्वका लागि एमालेसँग मिल्नु परेको होः सभापति देउवा

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्थायीत्वका लागि नेकपा एमालेसँग मिल्नुपरेको बताएका छन् ।

पार्टीतिकट नेपाल कार्मचारी युनियनको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले स्थायी सरकारकै लागि गत असार १७ गते नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सहमति गरेर अगाडि बढ्ने निर्णय गरेको पनि बताएका छन् ।

देउवाले कर्मचारीले जुन दलप्रति आस्था राखे पनि सरकारको निर्देशन मानेर अघि बढ्नुपर्नेमा पनि जोड दिए । देउवाले कांग्रेस र एमालेबीच विगतमा अनेकन मतभेद रहेको स्वीकार्दै तर लोकतान्त्रिक व्यवस्था बचाउने कुरामा मिल्नुपरेको पनि प्रष्टीकरण दिए ।

‘कांग्रेस र एमालेबीच विगतमा मतभेद थिए, अहिले पनि केही होलान् । तर हामी अहिलेको व्यवस्था बचाउने कुरामा एक ठाउँमा छौँ, यसमा दुई दलबीच कुनै मतभिन्नता छैन’, उनले भने, ‘कांग्रेस‍–एमाले मुख्य प्रतिस्पर्धी रहेको कुरामा कुनै शंका छैन। तर देशका समस्याहरू हामी दुई दल मिलेर समाधान गर्दै अघि बढ्छौँ ।’

उनले आफू र ओली मिलेपछि देशका जुनसुकै समस्या समाधान गर्न सक्ने पनि बताए । ‘ओलीजी र म मिलेर देशका हरेक समस्याको समाधान गर्छौ’, उनले भने, ‘अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउनुछ, यसको रक्षा गर्नुछ । नेपाली जनताले खोजेको पनि देशमा स्थायित्व र स्थायी सरकार हो । त्यसकै लागि कांग्रेस र एमाले एक ठाउँ भएका हौँ ।’

देउवाले कर्मचारीहरूलाई जो जहाँ जुन दलमा आस्था राख्ने भए पनि सरकारको निर्देशन मान्नुपर्ने दोहोर्‍याए । उनले जुन दलसँग आस्था राखे पनि कर्मचारीहरूले सरकारको निर्देशन मानेर जनताको सेवामा लाग्नुपर्नेमा जोड दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org