ताजा समाचार

नेपाल र स्कटल्यान्डको खेलमा कसको कति रन-विकेट ?

काठमाण्डौ। त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको उपाधि घरेलु टोली स्कटल्यान्डले जितेको छ । गएराति भएको खेलमा नेपाल स्कटल्यान्डसँग ३४ रनले पराजित भयो । नेपाल, स्कटल्यान्ड र नेदरल्यान्ड्स सम्मिलित शृङ्खलाको उपाधि घरेलु टोलीले जितेको हो ।

अन्तिम खेलमा जीतका लागि एक सय ९४ रनको लक्ष्य पछ्याएको नेपाल १८ ओभर ५ बलमा एक सय ५९ रनमा अलआउट भयो । नेपालका रुपेश सिंहले सर्वाधिक ४३ तथा दीपेन्द्रसिंह ऐरीले ३४ रन जोडे । स्कटल्यान्डका क्रिस ग्रेभ्सले ३ तथा सफियान सरिफले २ विकेट लिए ।

त्यसअघि ग्लास्गोमा टस जितेर पहिला ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर एक सय ९३ रन बनाएको थियो । उसका जर्ज मन्सीले सर्वाधिक ७८ रन बनाए । नेपालका कुशल भुर्तेलले २ तथा सन्दीप लामिछाने, ललितनारायण राजवंशी र रुपेश सिंहले समान १ विकेट लिए ।

स्कटल्यान्डले ४ खेलमा २ जीतका साथ तालिकाको शीर्ष स्थानमा रहँदै उपाधि जितेको हो । समान ४ खेलमा २ मा जीतसहित नेपाल अङ्कतालिकाको दोस्रो र नेदरल्यान्ड्स तेस्रो भयो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org