ताजा समाचार

म निर्माता निर्देशकभन्दा पनि कलाकार हुँ

551992_435376676514654_577158314_nकाठमाडौँ:  केही बर्ष अघि नेपाली चलचित्र नगरीमा चर्चामा रहेकी पात्र हुन सिर्जना वस्नेत जसले चलचित्र देउता, ज्वला, भूल, टुहुरो, यस्तै रहेछ जीन्दगी, अग्नीपथ ,धर्मात्मा ,करण अर्जुन,लगायतका दर्जनौ चलचित्रमा अभिनय गरिसकेकी छिन् । दर्जनौ नेपली सिनेमामा अभिनय गरे पनि उनलाई सबै दर्शकमाझ चिनाउने सिनेमा भने हालसम्म देउता नै रह्यो । उनी राजेश हमालद्धारा अभिनित चलचित्र देउताबाट डेव्यू गरेकी नायिका हुन् । जुन फिल्मलाई तुलसी घिमीरेले निर्देशन गरेका थिए भने यूवराज लामा निर्माताको रुपमा रहेका थिए । देउता पछि थुप्रै चलचित्रमा उनले अभिनय गरि सकेता पनि देउताको जस्तो क्रेज बटुल्न सकेकी छैनन उनले । केही समय आफ्ना श्रीमानले  निर्माण गरेका चलचित्रमा अभिनय गरेकी नायिका बस्नेतले यतिखेर भने श्रीमानको मृत्यु पश्चात एक्लैले चलचित्र निर्माण गरेकी छिन उनको चलचित्रको नाम रहेको छ ‘गुडलक’ जुन चलचित्र यहि साउन १४ मा रिलिज हुने तयारीमा छ । उनै नेपाली चलचित्रकी सदावहार नायिका  सिर्जना वस्नेतसँग नेपाली चलचित्र, उनका जीवनका आरोह अवरोह र आगामी सिनेमा ‘गुडलक’ सँग सम्वन्धित रहेर गरेको रमाइलो कुराकानी प्रस्तुत छ :
–     नेपाली सिनेमा क्षेत्रबाट लामो समय हराउनुभयो नि ?
म खासै हराएको  त छैन । लामो ग्याप भनेको त्यहि एक दुई बर्ष मात्र हो । बिच बिचमा बिभिन्न पारिवारिक झन्झटहरु आइलागे,मेरो आमा पनि बिरामी हुनुभयो त्यसले पनि केही ग्याप हुन गएको हो । जतिखेर कलाकारको रुपमा मात्र दर्शकसामु आइएको थियो निरन्तरता थियो । तर पछिल्लो समयमा आफै चलचित्र निर्माण निर्देशन गर्न थालेपछि अलि बढी नै व्यस्त भइएछ । यस बिषयमा म मेरा दर्शक स्रोताहरुलाई के भन्न चाहन्छु भने म कतै हराएको छैन, म जहाँ भए पनि आम नेपाली दर्शकको मन मुटुबाट हटेकी छैन ।
–     पहिलो चोटि सिनेमा निर्माण/निर्देशन गर्दा कस्तो अनुभव भयो ?
जस्तो एउटा कलाकारको रुपमा मात्र काम गर्दा र निर्माता निर्देशकको समेत भूमिकामा रहदा धेरै फरक पर्ने रहेछ । जुन मैले महशुस गरेकी छु । धेरै नै गाह्रो अनुभव छ भन्दा पनि फरक नपर्ला यतिखेर भने जसरी तसरी तयार गरेको सिनेमा ‘गुडलक’रिलिज गर्ने तिर लागि परेकी छु ।
 
–     तपाइँलाइ कतैबाट सिनेमा खेल्ने अफर नआएर आफै सिनेमा बनाउन तिर लाग्नु भएको हो कि के हो ?
त्यस्तो होइन, मलाई आफै सिनेमा बनाउने मुड चल्यो त्यसैले हो । मलाई अरुको सिनेमामा अफर नआएको हैन थुप्रै अफर आएको थियो तर आफ्नै निर्माणमा लागेकाले खेल्न नभ्याएर नखेलेको हो । मेरो मान्यता चाहिँ के छ भने यदि कसैले आफूलाई काम दिन्छ भने त्यसमा फुल्ली टाइम दिनुपर्छ डेडिकेटेड भएर लाग्नुपर्छ ।  
–     बिचमा तपाइँको घर व्यवहारमा केही दुखद घटनाहरु घटे भन्ने कुरा मिडियामा  आएको थियो नि ?
मेरो सबै व्यक्तिगत कुरा म यहाँ बताउन चाहन्न । सबैका जीवनमा थुप्रै व्यक्तिगत घटना घट्ने गर्छन मेरो जीवनमा पनि घटे होलान त्यो कुनै नौलो कुरा होइन् । पछिल्लो समयमा चाहि मैले सिने क्षेत्रमा समय दिन नसक्नुको कारण मेरो ममी हो । मेरो ममी विरामी अवस्थामा हुनुहुन्छ ।
आफूलाई जन्मदिने आमा भन्दा ठूलो यो सन्सारमा अरु के नै हुन्छ र ?
–     नेपाली चलचित्रका नायिकाहरु चर्चामा आइसकेपछि धनी केटासँग विहे गरेर फिल्म नगरी बाटै हराउछन भन्ने आरोप छ नि, यसमा के कति सत्यता छ ?
यस बिषयमा अरुको बारेमा म केही बोल्न चाहन्न । मेरो बारेमा भन्नु पर्दा मैले सम्पतिको लोभमा बिहे गरेको होइन् । मेरो त भाग्य नै त्यस्तै थियो । अहिलेसम्म  पनि म मेरो छोराको नागरिकताको लागि लड्दैछु । मैले यदि धनसँग मात्र मान्यता राखेर बिहे गरेको भए आज मसँग गाडी, बंगला, बैक व्यालेन्स थुप्रै हुने थियो । तपाइँहरुले नै देख्नु भएको छ न मेरो घर छ , न बैक व्यालेन्स छ न गाडी चढेर नै हिड्छु । तर पनि जीवनमा म धेरै नै खुशी छु । किनकि मैले उसलाई माया गरेको थिएँ उसले पनि मलाई माया गरेको थियो । आज उसको नासोको रुपमा उसको छोरा मसँग छ ।  
धन सम्पतिकै कुरा गर्ने हो भने हिजोको दिनमा उसले घर बनाउछु भन्दा मैले सिनेमा बनाउ भनें । ‘गोठालो’,  ‘चुनौती’ लगायतका सिनेमा बनाएको बखत यदि घर बनाएको भए शायद केही प्रोपर्टी त पक्कै हुन्थ्यो । उनी बितेपछि पनि यदि मलाई सम्पतिको त्यति नै मतलव थियो भने म त्यतिखेरै उनका परिवारका विरुद्ध मुद्धा पनि हाल्न सक्थे । तर सुरुमा वहाँका पिता माता अर्थात मेरा सासु ससुराले हामी तिमी र नातीको लागि केही गर्छौ भने केही समय पछि आएर मेरो बुहारी नै हैन भन्न थाले । त्यसपछि मात्र मैले बाध्य भएर मुद्धा दिएकी थिए छोरा को नागरिकता र उसको भविष्यको लागि अनि म अहिले माइतीमा बसेकी छु मात्र मेरो छोराको भबिष्य निर्माण गर्दै ।
 
–     अझै राजेश हमालको नायिका बनेर सिनेमा खेल्न मन लागेको छ होला नि ?
अफकोर्श लाग्छ , नलाग्ने त कुरै भएन नि वहाँ भन्दा म पछिनै यो क्षेत्रमा आएकी हुँ । वहाँसँगै खेलेको सिनेमाले मलाई यो क्षेत्रमा स्थापित बनायो । फेरि म बुढी भइसकेकी छु जस्तो त लाग्दैन मलाई  हाँस्दै भनिन्…… सिनेमाको हिरोइन हुनका लागि सोह्र बर्षको हुनै पर्छ भन्ने पनि त केही छैन नि हैन र ?
–     तपाइँले  निर्माता /निर्देशक एवं नायिकाको भूमिकामा रहेर तयार गरको चलचित्र ‘गुडलक’को बारेमा केही बताइदिनुस न् ?
 म अरुले जस्तो मेरो चलचित्रमा यस्तो छ उस्तो छ भनेर धेरै बयान गर्न चाहन्न । यो मैले तयार गरेको एकदमै छोटो मिठो चलचित्र हो  । दर्शकहरुलाई इमान्दारीताका साथ के भन्न चाहन्छु भने दुई घन्टाको समय एकदमै सजिलै बित्छ ,छिट्टै बित्छ । हेर्दा हेर्दै लौ मुभी त सकिएछ भन्ने जस्तो हुन्छ ।
–     ‘गुडलक’मा तपाइँ लगायत अन्य  को को कलाकार हुनुहुन्छ ?
यसमा नायकको रुपमा नव नायक नवराज श्रेष्ठ हुनुहुन्छ नायिकाको रुपमा म आफै भएँ ।  अन्य कलाकारमा रश्मी भट्ट र जोसना फुयाल,रबिन्द्र खड्का,अमित श्रेष्ठ आदि रहेका छन् ।
–     कुनै बेला तपाइले चर्चित नायक राजेश हमालसँग डेब्यू गर्नु भएको थियो,कसरी सञ्जोग मिलेको थियो राजेश हमालसँग खेल्ने ?
म एसएलसी दिएर बसिरहेको थिएँ मेरो फुपुको छोरा तुलसी घिमीरे र युवराज लामासँगै काम गर्नुहुन्थ्यो । देउता सिनेमा गर्नुअघि वहाँहरुले नयाँ अनुहार लिने भनेर सल्लाह गर्नु भएको  रहेछ । मलाइ पनि अभिनय गर्ने सानैदेखिको सोख थियो ।  त्यति नै बेला मेरो दाईले तुलसी घिमीरे दाइलाई मेरी बहिनी पनि अभिनयमा रुचि राख्छिन एकपटक हेर्ने त भन्नुभएछ । तुल्सी दाईले चाहि उसलाइ अहिले केही पनि नभन्नु भोली उसलाई सेलेक्ट गरिएन भने नराम्रो लाग्न सक्छ । खाना खाने बहाना गरेर लेराउ भन्नु भएछ । मलाई दाइले तुल्सी दाइकहाँ लगेपछि तुल्सी दाइले मैंले अभिनय गर्न सक्छ भन्ने लागेछ र वहाँले नै  सिधै अफर गर्नु भयो  ।  
–     पहिलो सिनेमा खेल्दा अप्ठेरो त भएन नि ?
तुल्सी दाइले धेरै सिकाएर काम लगाउनु भयो त्यस्तो अप्ठेरो भएन् । पहिलो सिनेमा नै मेरा लागि माइलस्टोन बन्न पुग्यो । पहिलो सिनेमा नै एकाएक सुपर डुपर हिट भयो । आजसम्म मैले कयौ मुभि गरेता पनि सिर्जना वस्नेत भन्ने बितिक्कै देउताको नायिकाको रुपमा चिन्ने गर्छन् ।  
–     उमेर ढल्किदै जाँदा पनि फिगर चाहिँ कसरी मेन्टन गरिरहनु भएको छ ?
खानपानमा पथ परेज र  डाइटिङ नै हो मूख्यत । जिमहरु गरेर मर्निङ वाक आदि गरेर तौललाई सन्तुलन गरिरहेकी छु ।  
–     पछिल्लो समयमा नेपाली चलचित्रमा थुप्रै बेडसिन एवं लिप किस सिनहरु देखिएका छन,के नेपाली चलचित्र चल्नका लागि त्यस्ता सिनहरु
अनिवार्य भएका हुन त ?
मैले अहिलेसम्म त्यस्तो खालको चलचित्र गरेको छैन । मैलेत मान्छेले टच पनि नगरी अवार्ड जितिराखेको हुन्छ । यो सब त बहाना मात्र हो । यहाँ कथावस्तुले मागेको भनेर बहाना बनाउनेहरु पनि छन । तर, कथा पनि त हामिले नै लेख्ने हैन र ? मूभि चलाउने ट्रिक मात्र हो । जस्तो कि चलचित्रमा कुनै पात्रको रेप भयो भन्ने कुरालाई देखाउन एउटा रुख घुमाएर पनि सकिन्छ् । हिजोआज जुन अश्लिल सिनेमाको बाढी आइरहेको छ यो ट्रेन लामो समय सम्म चल्दैन् । अश्लिल सिनले भरिएको मूभि केही दिन चल्ला तर लामो समय चल्न र सदावहार सिनेमा बन्न सक्दैन् ।  
–     अन्तमा आफ्ना दर्शक स्रोतालाइ के भन्न चाहनुहुन्छ ?
मलाइ अहिले सम्म सिर्जना बस्नेत भनेर चिन्ने र मेरो अभिनय मन पराउने दर्शक स्रोताहरुलाई मलाई अहिलेसम्म मन पराइदिनुभएकोमा धन्यवाद दिदै मैले धेरै दुख गरेर निर्माण गरेको सिनेमा ‘गुडलक’लाई पनि एक पटक हेरेर कमेन्ट गरिदिनुस भन्न चाहन्छु ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org