ताजा समाचार

रहेनन् हास्य अभिनेता आरपी

rpलादालाम उपनामले परिचित हास्य अभिनेता आरपी भट्टराईको ४२ वर्षको उमेरमा हृदयाघातका कारण निधन भएको छ
हास्य कलाकार आरपी (रुद्रप्रसाद) भट्टराईको ४२ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । टेलिशृंखला, ‘तितो सत्य’मा ‘मेलो नाम लादालाम’ भन्दै लामो समय नेपाली दर्शकलाई हँसाएका आरपीको विराटनगरस्थित फुपूको घरमा निधन भएको हो ।
लामो समयदेखि मधुमेह र उच्च रक्तचापबाट ग्रसित आरपी चार दिनअघि गृहजिल्ला विराटनगर पुगेका थिए । मधुमारास्थित फुपूको घरमा पुगेका आरपी खाना खाएर सुतेका थिए । बिहान उनी मृत अवस्थामा भेटिएका थिए । उनको हृदयाघातका कारण निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
आरपीको शुक्रबार राति परोपकार घाटमा अन्तिम संस्कार गरिएको छ । उनको अन्तिम संस्कारमा सहभागी हुन हास्य कलाकार दीपकराज गिरी र दीपाश्री निरौला विराटनगर पुगेका थिए । उनको शुक्रबार साँझ अन्तिम संस्कार गरिएको गिरीले जानकारी दिएका छन् ।
आरपीले ‘६ एकान ६’, ‘छक्कापञ्जा’लगायतका थुप्रै फिल्ममा अभिनय गरेका छन् । उनकी श्रीमती सरू भट्टराई र दुई छोरा छन् । लामो समयदेखि राजधानीमा बस्दै आएका आरपी राष्ट्रिय नाचघरका कर्मचारी हुन् ।
केही समय स्थानीय राजनीतिमा सक्रिय आरपी कलाकार बन्ने धोको पालेर राजधानी छिरेका थिए । उनले ‘५२ घुस्सा ५३ ठक्कर’मा अभिनय गरेर आफूलाई कला क्षेत्रमा होमेका थिए ।
श्रीमतीसँगै काठमाडौं आएका आरपीलाई आर्थिक संकट परेपछि कस्मेटिक पसल र ट्रक किनेर व्यापार पनि गरेका थिए । तर, ट्रक व्यवसाय घाटामा गएपछि उनले श्रीमतीसँग चुच्चेपाटीमा बेकरी पसल चलाए । उनले म्यानपावर व्यावसाय पनि सञ्चालन गरे ।
०६४ सालमा ‘तितो सत्य’मा अभिनय गरेपछि भने उनको चर्चा चुलिएको थियो । त्यसपछि उनले आफ्नो मुख्य कर्म नै अभिनयलाई बनाएका थिए । मोटो शरीरका आरपी गायक पनि हुन् । उनले हास्यरसयुक्त गीत पनि श्रोतामाझ ल्याएका थिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org