ताजा समाचार

आजबाट स्वस्थानी व्रत सुरु

काठमाडौं, २८ पुस । श्री स्वस्थानी व्रत आजबाट सुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी ब्रत र माघ स्नान गर्ने चलन छ । बिहान माघ स्नान गरी मध्याह्नकालमा महादेवको पूजा गर्ने र बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी ब्रत कथा सुन्ने सुनाउने परम्परा छ । एक महिनासम्म यो विधिबाट ब्रत गरी माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, सुपारी, पान, फूल, रोटी, अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, बस्त्र, भेटी चढाइ ब्रतको कामना पूर्ण होस् भनी स्वस्थानी माताको पूजा गर्ने चलन छ । एक महिनासम्म हिन्दु नेपालीका घरमा सात्विक भावले श्रद्धा भक्तिपूर्वक स्वस्थानी परमेश्वरीको पूजा आराधना गरी स्वस्थानीको कथा सुन्ने तथा सुनाउने चलन छ । सत्य युगमा हिमालयकी पुत्री पार्वतीले महादेवलाई स्वामीका रूपमा पाउँ भनी स्वस्थानी परमेश्वरीको निराहार तपस्या गरेपछि उनको मनोकांक्षा पूरा भएको किवदन्ती छ । शिव पार्वतीको बिबाह पश्चात लोक कल्याणका निम्ति परम्परागतरुपमा सोही ब्रत कथा प्रचलित रहिआएको मानिन्छ । यस अवसरमा आजैदेखि एक महिनासम्म उपत्यकाको उत्तर पूर्वी भेगको साँखुस्थित शालीनदीमा माघस्नानसहित माधवनारायणको मेला लाग्दछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org