ताजा समाचार

पर्दामा नायिकाद्वय केकी र बेनिसाको भिडन्त

काठमाडौं । अभिनेत्रीद्वय केकी अधिकारी र बेनिसा हमाल खुबै मिल्छन् । उनीहरू एक–अर्कालाई ‘बेस्ट फ्रेन्ड’ मान्छन् । दुवैले ‘स्वर’ फिल्मबाट डेब्यु गरेका थिए । त्यति वेलादेखि नै उनीहरूबीच मित्रता झाँगिएको हो । उनीहरू यति धेरै नजिक छन् कि जहाँ भए पनि एक–अर्काको अवस्थाबारे ‘अपडेट’ भइरहन्छन् । तर, यिनै सँगिनीको पर्दामा भिडन्त हुँदै छ । केकी अभिनीत ‘लभ सासा’ र बेनिसा अभिनीत ‘किङ’ बिहीबारदेखि प्रदर्शनमा आएका छन् । दुवैले एक–अर्कालाई सफलताको शुभकामना त दिएका छन्, तर एकले अर्कालाई दिएको ‘दुवा’ कति लाग्छ, त्यो भने केही दिनमै छर्लंग हुनेछ । केकी र बेनिसाले नवल नेपाल निर्देशित ‘महसुस’ फिल्ममा सँगै अभिनय गरेका थिए । सो फिल्ममा बेनिसाभन्दा केकीको अभिनयले चर्चा पाएको थियो । एक–अर्काका घनिष्ठ मित्र भएकाले मंगलबार भएको केकी अभिनीत लभ सासाको प्रिमियरमा बेनिसा पनि उपस्थित भएकी थिइन् । बेनिसाले केकीको लभ सासा र केकीले बेनिसा अभिनीत किङको सफलताको कामना गरे। ‘बेनिसाको फिल्म चल्नैपर्छ,’ केकी भन्छिन्, ‘म उसको फिल्म हिट भएको हेर्न चाहन्छु ।’ बेनिसा पनि केकीको फिल्म चल्नुपर्ने धारणा राख्छिन् । ‘मेरी साथी केकीको फिल्म चल्नुपर्र्छ । म कामना गर्छु, हामी दुवैका फिल्म चलून्,’ बेनिसा भन्छिन् । कुनै दिन आफूहरूको फिल्म जुध्लान् भन्ने केकी र बेनिसा दुवैले सोचेका पनि थिएनन् रे । ‘हाम्रा फिल्म सँगै रिलिज होलान् भन्ने कहिल्यै सोचेका थिएनौँ,’ दुवैजनाको एउटै बोली छ, ‘यो सबै समयको खेल हो । दुवैका फिल्म सफल हुन्छन् भन्ने विश्वास हाम्रो छ ।’ प्रचण्डमान श्रेष्ठको निर्देशनमा माधव वाग्लेले निर्माण गरेको लभ सासा मल्टिप्लेक्सका दर्शकलक्षित फिल्म हो भने सबिर श्रेष्ठको निर्देशनमा जयन श्रेष्ठले निर्माण गरेको किङलाई सिंगल थिएटर फिल्म मानिएको छ । किङमा बेनिसाका साथ निखिल उप्रेती प्रमुख भूमिकामा छन् । त्यसैगरी, लभ सासामा केकीका साथ कर्मा र आसिफ शाह प्रमुख छन् । किङ र लभ सासाका साथमा सौगात मल्ल स्टारर ‘शब्द’ पनि बिहीबारदेखि नै प्रदर्शनमा आएको छ । 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org