ताजा समाचार

कमिसन विवादमा हाकिममाथि हातपात प्रयास

सप्तरी, २९ पुस ।  कमिसनमा कुरा नमिलेपछि जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुखमाथि आफ्नै कर्मचारीबाट हातपातको प्रयास भएको छ । तथ्यांक अधिकृत छेदी यादवले कार्यालय प्रमुख हरिश्चन्द्र साहमाथि गालीगलोज गर्दै हातपातको प्रयास गरेका हुन्। तथ्यांक अधिकृत यादवले प्रमुख साहसमक्ष दुई साताअगाडि नै पुस्तक छपाइ तथा विभिन्न कार्यक्रमका बिल–भर्पाइ पेस गरेका थिए ।

कमिसनमा कुरा नमिलेकै कारण बिल–भर्पाइ अहिलेसम्म पास नभएको स्रोतको भनाइ छ । कुरा नमिलेपछि कार्यालय प्रमुख साहमाथि कार्यालय परिसरमै रहेको निवासमा हातपात प्रयास भएको हो । तथ्यांक अधिकृत यादवले आफूले सम्पन्न गरेको कार्यक्रमहरूको तत्काल रकम निकासा गर्न आग्रह गरेका थिए । स्रोतका अनुसार पुस्तक छपाइ, अनमि भर्नाको विज्ञापनलगायतमा कार्यालय प्रमुख साह र तथ्यांक अधिकृत यादवबीच कुरा नमिलेको हो । यस्तै खरिद इकाइ समिति गठनमासमेत दुईजनाबीच विवाद रहेको बताइएको छ । साह डेढ महिनाअगाडि जनस्वास्थ्य प्रमुख भएर आएका हुन् ।

त्यसअघि केही समय यादवले निमित्त प्रमुखको जिम्मेवारी सम्हालेका थिए । साह प्रमुख भएर आउनेबित्तिकै कार्यालयको विभिन्न फाँटको जिम्मेवारीमा हेरफेर गरेपछि दुईजनाबीच मनमुटाव हुन थालेको स्रोतको भनाइ छ । कार्यालय प्रमुख साह र अधिकृत यादवबीच भएको विवादका कारण दिनभर कार्यालयको कामकाज प्रभावित भएको थियो । घटनाबारे बुझ्न दुवै पक्षलाई बोलाएर छलफल गर्ने प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले बताए । 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org