ताजा समाचार

चलचित्र निर्माणमा खेलाँची भयो : महानायक हमाल

 

धरान/अभिनेता राजेश हमालले नेपाली चलचित्र हेर्ने शैलीमा धेरै परिवर्तन आइसकेको बताएका छन् । धरानमा जारी अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको दोस्रो दिन आयोजित ‘नेपाली चलचित्रको वर्तमान अवस्था’ विषयक अन्तरक्रियामा अभिनेता हमालले २६-२७ वर्षअघिको चलचित्र हेर्ने शैली र बानीमा धेरै नै परिवर्तन आएको बताए । उनले दर्शकको स्वाद, दृष्टिकोण, कथा, मान्छेको भावना, समाजको विसंगतिलाई लिएर चलचित्र बनाउने प्रचलन सुरु भइसकेको धारणा राखे । ‘सहर, गाउँ, विदेश जहाँ बसे पनि नेपाली चलचित्र हेर्न थालेका छन् । यसले नेपाली चलचित्रको भविष्य राम्रो देखेको छु,’ उनले भने, ‘नेपाली चलचित्रको पहिचान आफ्नै बन्न खोजेको छ, यो सकारात्मक पक्ष हो । नयाँनयाँ फिल्म मेकरले त्यो प्रयास गरिरहनुभएको छ ।’ अभिनेता हमालले विगतमा चलचित्र राम्रै चल्ने, ठीकै चल्ने अलि अलि चल्ने गरे पनि पछिल्लो समय राम्रा चलचित्र बने हलसम्म पुगेर हेर्ने, नभए हेर्दै नहेर्ने प्रवत्तिको विकास भइरहेको धारणा राखे । यसले राम्रा चलचित्र बनाउन चाहनेलाई बल पुग्ने बताए ।

चलचित्र निर्माणमा खेलाँची भयो

अन्तत्र्रिmयामा निर्देशक लक्ष्मीनाथ शर्माले प्रविधिको चरम विकासले चलचित्र निर्माणमा सजिलोसँगै विकृति पनि भित्रिएको धारणा राखे । पहिलेभन्दा पछिल्लो समय चलचित्र बनाउन निकै सहज भएको छ, तर यसले विकृति पनि भित्रााएको छ, उनले भने, आज प्रविधिको विकासले चलचित्र निर्माणमा खेलाँची भएको छ । निर्देशक शर्माले राम्रा चलचित्र निर्माण भए दर्शकले हेरिदिने गरेको बताउँदै विषयवस्तु नै नराम्रो भए चलचित्र पनि खराब बन्ने विचार राखे ।

चलचित्र प्रदर्शनमा माफियातन्त्र हाबी

अर्का निर्देशक दीपक श्रेष्ठले नेपाली चलचित्रमा माफियातन्त्र मौलाएको धारणा राखे । उनले बजारको आवश्यकताभन्दा बढी संख्यामा चलचित्र बन्ने गरेको बताउँदै यसले सिनेमा हल मालिक र वितरकलाई फाइदा पुगेको र निर्माता घाटामा गएको बताए। अहिले बजारको मागभन्दा चलचित्र निर्माणको संख्या धेरै हुँदै गएको छ, त्यसले गर्दा वितरक र हल मालिकलाई मेरो चलचित्र प्रदर्शन गरिदेउ न भनेर हात जोड्नुपर्ने अवस्था छ, यसले उनीहरूको मनपरी बढाइदिएको छ,’ श्रेष्ठले भने, ‘कतिसम्म भने नेपालका मल्टिप्लेक्स हल नेपाली सिनेमाको पोस्टरसमेत राख्न मान्दैनन्, राखिहाले वा चलाए पनि पहिलो हप्ता ५० प्रतिशत, दोस्रो साता ४० र तेस्रो साता ३० प्रतिशत आम्दानी निर्माताको हातमा पर्छ । वितरकहरू पैसा लगानी नगरिकन धनी बन्ने गरेका छन् । श्रेष्ठले नेपाली चलचित्रको विकासमा राज्यका तर्फबाट कुनै ठोस पहल नभएको बताए ।

१२ चलचित्र देखाइए

धरानमा जारी अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको दोस्रो दिन बिहीबार विभिन्न भाषाका १२ वटा वृत्तचित्र, लघुचलचित्र र फिक्सन चलचित्र देखाइयो । पहिलो चरणमा इजिप्टको ‘अह’, नेपालका ‘अपांगताको पीडा’, बालकृष्ण सम’, ‘कल्ली’, ‘डाइड’ ‘डिम’ र ‘लोक्ता लेक’ देखाइयो । दोस्रोमा टर्कीको ‘ओकसिन’, जापानको ‘पोनपोको माउन्टेन’, भारतको ‘फ्लोरोन तोन्डुड’, ‘बियोन्ड द बाउन्डरी’ तथा तेस्रो चरणमा ‘जादुयी मछली’ तथा नेपालको ‘सोनकली’ देखाइयो । सोनकली अप्रतियोगी वृत्तचित्र हो । यसले विभिन्न अवार्ड जितिसकेको छ । प्रदर्शन भएकामध्ये जातीय छुवाछुतमा आधारित वृत्तचित्र बालकृष्ण समले धेरैको मन जित्यो । वृत्तचित्रको कथावस्तु र त्यसमा अभिनय गर्ने बालकलाकारको धेरैले तारिफ गरे । वृत्तचित्रको निर्देशन दिनेश पाल्पालीले गरेका हुन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org