ताजा समाचार

गीतकार सङ्घको छैटौँ साधारणसभा

काठमाडौँ, २९ पुस । समाजमा शान्तिपूर्ण सहअस्तित्व कायम गरी समाजलाई पथप्रदर्शन गर्ने गीत सिर्जना गर्नुपर्नेमा जोड दिइएको छ ।

गीतकार सङ्घको छैटौँ साधारणसभामा सहभागी वक्ताले विभिन्न जाति समुदायमा विभक्त नेपाली समाजमा सामाजिक एकताको खाँचो औँल्याउनुभयो ।

वरिष्ठ गीतकार किरण खरेलले मुलुकमा सामाजिक रुपान्तरणका लागि कला, साहित्य तथा गीत–सङ्गीत सशक्त माध्यम भएको विचार व्यक्त गर्नुभयो । उहाँले सर्जकले सिर्जना गर्ने गीत तथा सङ्गीतको रोयल्टी वितरण प्रणालीलाई पारदर्शी बनाउन आग्रह गर्नुभयो ।

सङ्गीतकार समाजका अध्यक्ष सुरेश अधिकारीले नेपाली समाजको अवस्था तथा स्रोतको मनोभावनालाई बुझेर राम्रो र उत्कृष्ट गीत तथा सङ्गीतको सिर्जना गर्न सकिएमा राष्ट्र एकताबद्ध हुनसक्ने बताउनुभयो ।

गीतकार मिलन मोक्तान, तुलसी पराजुली, लक्ष्मण श्रेष्ठलगायतले सो क्षेत्रलाई व्यवस्थित गर्ने निकाय संवेदनशील नहुँदा स्रष्टाको सिर्जनाको चोरी बढ्दै गएकामा चिन्ता व्यक्त गर्नुभयो ।

गीतकार सङ्घका अध्यक्ष योगेन्द्रमणि दाहालले मुलुकभर रहेका गीतकारलाई एकताबद्ध गरी उनीहरुका हक, हित तथा अधिकारलाई संरक्षण गर्न संस्था क्रियाशील रहेको बताउनुभयो । सो संस्थाको साधारणसभाले नयाँ नेतृत्वसमेत छनोट गर्नेछ । 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org