ताजा समाचार

सात वर्षपछि वरदान लिएर त्रिलोक

काठमाडौं । एकताका निकै चर्चामा थिए, गायक त्रिलोक राना । उनले गाएका ‘मन पराई तिमीले हत्ते गर्‍यौ नि, भूपू मायालु’, ‘तिमीजस्ती छैन कोही’लगायतका गीत श्रोताले मन पराएका थिए । विशेषगरी पप आधुनिक शैलीका गीतमा दख्खल राख्ने गायक त्रिलोक एकाएक संगीतकर्मबाट हराए ।

तर कहाँ गए, विदेश ? ‘होइन, म यहीँ थिएँ,’ त्रिलोक बोले, ‘मलाई गम्भीर बिमारीले च्याप्यो । जसकारण चाहेर पनि दर्शकश्रोतामाझ आउन सकिनँ ।’ त्रिलोक बीचमा प्यांक्रियाज र पित्तथैलीपीडित भए । स्वास्थ्योपचारमा लागेकाले नयाँ गीत ल्याउन नपाएको उनी बताउँछन् ।

झन्डै सात वर्षको विश्रामपछि त्रिलोक दर्शक–श्रोतामाझ आएका छन्– वरदान लिएर । वरदान उनको नयाँ गीतिएल्बम हो । वरदानमा आठवटा गीत छन् । उनको यस एल्बमको ‘काँडा छोए फूल बन्छ’ बोलको गीतको भिडियो पनि हालै सार्वजनिक भएको छ । सुनील मास्केको संगीत रहेको सो गीतको भिडियोमा अभिनेत्री बेनीशा हमाल र अनिल थापाले अभिनय गरेका छन् ।
‘श्रोता दर्शकको माया र आशिर्वादले पुनरागमन भएको छ मेरो,’ त्रिलोक भन्छन्, ‘आशा छ, पहिलाझैँ मेरो गीत सुनिदिनुहुनेछ ।’ सात वर्षसम्म श्रोतामाझ आउन नसकेको छटपटी वरदानमा समावेश गरेको बताउँछन् । ‘दर्शक, श्रोताबाट मैले पहिला जति धेरै माया पाएको थिएँ, अब अझ धेरै मायाको आशा गरेको छु,’ उनी भन्छन्, ‘वरदानमा एकसे एक सुमधुर गीत समावेश गरेको छु । सबैलाई मन पर्नेमा विश्वस्त छु ।’

विगत केही वर्षयता एल्बम निकाल्ने चलन नै हराएको छ । पहिलाझैँ एल्बमै किनेर सुुन्ने श्रोता पनि निकै कम छन् । तर, पनि आफूले श्रोताको सम्मानका लागि एल्बम नै प्रस्तुत गरेको त्रिलोक बताउँछन् । ‘अचेल एउटा–दुईटा गीत निकाल्ने चलन छ । तर, मैले त्यसो गर्न चाहिनँ,’ उनी भन्छन्, ‘लामो समयपछि आएकाले मेरा शुभचिन्तकलाई गीतसंगीतको पूर्ण स्वाद दिनका लागि यसो गरेको हुँ ।’ अब भने उनी निरन्तर गायनमा लाग्ने सुरमा छन् । ‘स्वास्थ्य र परिस्थितिले साथ दिएसम्म गीत गाइरहनेछु,’ उनी भन्छन्, ‘श्रोताको माया मार्न सक्दिनँ । त्यसैले फेरि आएको छु ।’

सार्वजनिक भएको छोटो समयमै वरदानका गीत चर्चित हुँदै गइरहेकोमा खुसी मानेका छन् त्रिलोकले । भाइब्स क्रिएसनले बजार व्यवस्थापन गरेको वरदानमा ‘काँडा छोए फूल बन्छ’, ‘तिमीलाई छुने हावा भाग्यमानी’, ‘पहिलो भेटमा तिमीसँग’, जलाऊँझैँ लाग्छ संसार’, ‘मुटुमा धुप जलिरहन्छ’लगायतका बोलका गीत छन् । अन्य गीतका भिडियो केही समयपछि निर्माण गरिने उनी बताउँछन्

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org