ताजा समाचार

‘घुम्न जाने र कमाउने रहर सपना भो,म किन जन्मे हुँला’

सुर्खेत वीरेन्द्रनगर चिसापानीको जंगल नजिकै रहेको राम जानकी सामुदायिक उपभोक्ता समुहको काठलाई कुरेर बसेका शुक्रराज लिम्बूलाई मानिसहरु बाटोमा हिडेको देख्दा आफू पनि त्यसरी नै हिड्न मन लाग्छ । हिडेर मन लागेको ठाउँ पुग्ने मनको रहर लिम्बूको मनैमा छ । आफ्नो घर बनाएर बस्ने सपना पनि कलिलै उमेरमा चकनाचुर भएको थियो ।

लिम्बूको उमेर ३८ वर्ष मात्रै भयो । उनको ५ जना परिवार छ । आमा र भाईबुहारी छन् । ‘पेटभरी खान पाइदैन । बजारमा माग्न जाँदा आमाले घरबाट निस्की हाल भिकारी भन्नु हुन्छ’ लिम्बुूले न्युज–नेपालसँगको कुराकानीको सुरुमै भने । ‘भाईबुहारीले कमाई गरेका छन् । म किन जन्मेको रहिछु, पापी भगवानबाट ठगिएको भाग्य जस्तो लाग्छ’ लिम्बूले भने । उनले आफ्नी आमा बिरामी भएकाले आफू भोकै जीवन बिताउन बाध्य भएको बताए ।

कसैले दया मानेर खाने कुरा दिन्छन् । कसैले हकारेर पठाउने गरेको सुनाउँदै लिम्बुले भने, ‘म यस्तो नभएको बाहिर विदेश गएरै भएपनि कमाई गरेरै भएपनि आमालाई पाल्ने मेरो सपना थियो, पूरा भएन ।’

लिम्बू जन्मजात अपाङ्ग हुन । भाईबुहारीहरुले खाना पनि राम्रो मनले नदिने र उल्टै पिट्न खोज्ने उनले सुनाए । ‘के गरौं, म यस्तो नभएको भए पैसा कमाएर भाईबुहारी आमालाई सहयोग गर्ने थिए’ आँसु झार्दै उनले भने । आमाले भिकारी भन्दै गाली गर्ने गरेको दुःखेसो पोखे । उनको लागि घरबाट निस्केर जाने ठाउँ कतै छैन ।

लिम्बूले राम जानकी सामुदायीक उपभोक्ता समुहको काठ हेरचाह गरिरहेका छन् । कहिले कही महिनाको ५ सय रुपैयाँदेखि १५ सय रुपैयाँसम्म पाउछन् । त्यही पैसा पनि भाई बुहारीले खोसेर लिने गरेको उनले बताए ।

आँसु झार्दै लिम्बूले भने, ‘घुम्न जाने र कमाउने रहर सपना भो, म किन जन्मे हुँला ।’ उनले धेरै दिन भोकै बसेको र थोरै दिनमात्र पेटभरी खाएको अनुभूति सुनाए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org