ताजा समाचार

आफै विरुद्ध छानबिनको माग गर्दै प्रहरी चौकीमा दिपक-दिपा

काठमाडौं  । बर्ष २०७३ को ब्लकवस्टर फिल्म ‘छक्का पञ्जा’ पाइरेसी र त्यसपछि पाइरेसीमा संलग्न एक युवकले गरेको आत्महत्या पछि उत्पन्न परिस्थितीमा निर्माण टिम विरुद्ध नै छानबिन माग गर्दै प्रहरीमा निवेदन दर्ता गराइएको छ । निर्माता तथा कलाकार दिपकराज गिरी, निर्मल शर्मा, सुमन गिरी सहित निर्देशक दिपाश्री निरौंलाले संयुक्त रुपमा आफुहरुमा नै छानबिन माग गर्दै गौशाला प्रहरीमा उजुरी दर्ता गराएका हुन् । शनिबार बिहान ११ बजे दिपकदिपा सहितको निर्माण टिम प्रहरी चौकीमा पुगेको थियो । ‘छक्का पञ्जा’ टिम प्रहरी चौकी जाँदै गरकेो थाहा पाएपछि मिडियाकर्मीको बाक्लो भिड चौकीमा देखिएको थियो ।

 निवेदन दर्ता गराइसकेपछि दिपकले मिडियामाझ कुरा गर्दै पाइरेसीमा संलग्न दिवंगत कृष्ण सुवेदीले आत्महत्या पश्चात प्राप्त भएको भनिएको ‘सुसाइड नोट’ मा आत्महत्या नभइ हत्या लेखिएको अबस्थामा त्यसको दोष आफुहरुमाथी पोख्दै विभिन्न मिडिया देखि सामाजिक सञ्जालमा आइरहेका क्रिया प्रतिक्रियामाथी छानबिन होओस् भन्दै प्रहरी समक्ष आएको बताए ।
मृतक सुवेदीलाइ आफुहरुले पाइरेसीमा संलग्न भएता पनि त्यसमा पुर्ण दोष उनको नदेखिएकोले आफुहरुकै आग्रहमा प्रहरीलाई छोड्न लगाएको स्मरण गर्दै आफुहरुले धम्की दिएको, गाली गलौच गरेको भन्ने कुरामा सत्यता नभएको दिपकको दाबी छ । यी सबै परिस्थितीपछि उत्पन्न परिस्थिमा मृतकको परिवारमा भन्दा बढि छानबिन आफुहरुमाथी हुनुपर्ने देखिएकोले सत्य तथ्य पत्ता लगाइयोस् भन्दै प्रहरीमा आएको उनको भनाई थियो ।
अहिलेको परिस्थितीमा धम्की दिएको भए त्यसको फोन कल चेक गरेर खोजी गर्न सकिने प्राविधिक हात भएको तथा अन्य विभिन्न कोणबाट दोषी पत्ता लाग्ने आधार रहेको भन्दै आफुहरुले त्यस्तो गरेको पाइएमा कारबाहीको लागी तयार रहेको उनले बोले ।
यसैबीच निर्माता तथा अभिनेता गिरीले मृतक कृष्ण सुवेदीले लेखेर छोडेको भनिएको ‘सुसाइड नोट’ माथी नै शंका गरेका छन् । त्यहाँ लेखिएका शब्दहरुमा एकरुपता नदेखिएको तथा आत्महत्या पहिले लेखिने नोटमा भाषागत त्रूटी समेत पाइएकोले त्यसको बारेमा पनि छानबिनको लागी प्रहरी समक्ष आग्रह गरेका छन् ।
 ‘सुसाइड नोट’मा प्रयोग गरिएका अक्षरमा समेत तल र माथी एकरुपता नभएको र सुसाइड नोट मृत्यू पहिले लेखिनेमा वर्तमान काल प्रयोग हुने भन्दै प्राप्त भएको भनिएकोमा जोडिएको भूतकालमाथी गिरीले प्रश्न उब्जाएका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org