ताजा समाचार

अस्ताए ‘तिरिरी मुरली बज्यो’ का गायक पन्नाकाजी

काठमाडौं,१२ माघ । पुराना गायक तथा संगीतकार पन्नाकाजी शाक्यको ८५ वर्षको उमेरमा निधन भएको छ । उनको आज बिहान साढे ५ बजे ताहाचलस्थित निवासमै निधन भएको हो । 

उनको तिरिरी मुरली बज्यो वनैमा गीत निकै चर्चित छ । शरदकुमार शाक्यको शब्द रहेको गीतमा पन्नाकाजी आफैंले संगीत र स्वर दिएका थिए ।

वि. सं. १९८८ साल पुस १५ गते काठमाडौंको ओमबहालमा जन्मिएका पन्नाकाजी २००७ सालमै रेडियो नेपालमा प्रवेश गरेका थिए । उनले २००८ सालदेखि रेडियोमा स्थायी नियुक्ति पाएर ०४० सालसम्म काम गरेका थिए ।

रेडियो नेपालले ०२२ सालमा आयोजना गरेको आधुनिक गीत प्रतियोगीतामा नारायणगोपाल संगीतमा प्रथम भएका थिए भने पन्नाकाजी गायनतर्फ प्रथम भएका थिए । उनले किनकिन तिम्रो तस्बिरलोलाएका ती तिम्रा आँखाको पुरानो मेलोडी, नौलाखे तारा, एकानी दुवानी, रात यो नबित्ला, लालीगुराँस फुल्यो है लगायत सिर्जना दिएका छन् । आधुनिक, भजन, स्वदेशगान, लोकगीत नेपाल भाषाका गरी उनका करिब चार सय गीत रेकर्ड भएका छन् ।  पन्नाकाजीका चार छोरा र एक छोरी छन् । दुई पुत्र प्रवेशमान शाक्य र पवित्रमान शाक्य गायन क्षेत्रमै क्रियाशील छन् । उनको बुधबारै टेकु दोभानमा दाहसंस्कार गरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org