ताजा समाचार

चिसो घट्दै, न्यानो बढ्दै

काठमाडौं, १२ माघ। चिसो घट्न थालेपछि देशैभर न्यानो महसुस गर्न थालिएको छ । जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले चिसो घटेर तापक्रम बढ्दै गएको जनाएको छ । बिहान–बेलुका जाडो भए पनि दिउँसो निकै न्यानो महसुस हुन थालेको छ ।

मौसम सफा रहेकाले बिस्तारै तापक्रम बढ्दै गएको जल महाशाखाका मौसमविज्ञ सुजन सुवेदीले बताए । ‘अहिले पानी पर्ने वा बादल लाग्ने नभएकाले दिउँसोको घाम राम्रोसँग लागेको छ,’ सुवेदीले नयाँ पत्रिकासँग भने, ‘यसैले काठमाडौं उपत्यकासहित देशैभर तातो महसुस गरिएको छ ।’ अरू वर्षहरूमा पनि माघ महिनाको अन्त्य (फेब्रुअरी दोस्रो साता) देखि चिसो स्वतः घट्दै जाने महाशाखाको भनाइ छ ।

तापक्रमको वर्तमान अवस्था
सबैभन्दा बढी चिसो हुने हुने हिमाली क्षेत्रमा रहेको जुम्लामा अहिलेको तापक्रम अधिकतम २० देखि न्यूनतम माइनस ४ डिग्री सेल्सियस छ । यस्तै, काठमाडौं उपत्यकाको तापक्रम अधिकतम २१ र न्यूनतम ४ दशमलव ५ डिग्री सेल्सियस छ । विराटगरमा अहिले अधिकतम २८ दशमलव ३ र न्यूनतम ९ डिग्री सेल्सियस छ ।

१ माघ सबैभन्दा चिसो
यस वर्षको अहिलेसम्मको सबैभन्दा चिसो दिन १ माघ भएको छ । सो दिन छिटफुट वर्षा भएकाले पनि बढी चिसो थियो । त्यस दिन काठमाडौंको तापक्रम अधिकतम १६ दशमलव ४ र न्यूनतम शून्य दशमलव ४ थियो भने जुम्लामा अधिकतम १९ दशमलव ४ र न्यूनतम माइनस ८ डिग्री सेल्सियस थियो । नेपालगन्जमा अधिकतम १८ दशमलव ८ र न्यूनतम २ दशमलव ४, विराटनगरमा अधिकतम २१ दशमलव ७ र न्यूनतम ५ दशमलव ४ डिग्री सेल्सियस पुगेको थियो ।

तराईमा न्यून शीतलहर
यो वर्ष तराई–मधेसका जिल्लामा न्यून शीतलहर चलेको थियो । शीतलहरको प्रभाव कम परेकाले तराईका जिल्लामा यस वर्ष चिसोले कठ्यांग्रिएर कसैको ज्यान नगएको गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले बताए । घाम नलाग्दा भने चिसो बढे पनि लामो समय शीतलहर भने चलेन । अघिल्ला वर्षमा तराई–मधेसका जिल्लामा शीतलहरका कारण धेरैको ज्यान जाने गरेको थियो ।नयाँपत्रिकामा खबर छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org