ताजा समाचार

चलचित्र संघको अध्यक्षमा उदय निर्विरोध

मकवानपुर/ नेपाल चलचित्र संघको ४४औँ साधारणसभा मंगलबार हेटौँडामा सम्पन्न भएको छ । अधिवेशनले प्रदीपकुमार उदयलाई निर्विरोध अध्यक्षमा चयन गरेको छ । अधिवेशनका लागि राजधानीबाट चलचित्रकर्मी तथा सञ्चारकर्मी हेटाैँडा पुगेका थिए ।

फिल्म हल सञ्चालकहरूको साझा संस्थाका रूपमा रहेको चलचित्र संघको अध्यक्षमा राप्रपा केन्द्रीय सदस्यसमेत रहेका उदयको मात्रै उम्मेदवारी परेको थियो । जसकारण उनी निर्विरोध निर्वाचित भएका हुन् ।

सभालाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री कमल थापाले नेपाली फिल्मको विकास कस्तो हुँदै छ, कुन मार्ग उन्मुख भइरहेको छ भन्नेतिर छलफल गर्न जरुरी भएको बताए ।

उनले फिल्मको विकासका लागि सरकारले छुट्टै नीति अवलम्बन गर्नुपर्ने धारणा राखे ।संघको साधारणसभालाई सम्बोधन गर्दै चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईले देशका विभिन्न स्थानमा पुराना हलमा फिल्म प्रदर्शन गर्दा दर्शकको रुचि घट्ने भएकाले सुविधासम्पन्न फिल्म हल बनाउनुपर्नेमा जोड दिए ।

उनले यसका लागि संघले ठोस कदम चाल्नुपर्ने बताए । उनले देशको कलासंस्कृति र परम्परालाई फिल्मले बचाउने भए पनि सरकारले यस क्षेत्रलाई अपहेलना गरेको आरोप लगाए ।

संघको नयाँ कार्यसमितिका लागि अशोक शर्मा, वीरेन्द्रनारायण श्रेष्ठ, मधुसूदन प्रधान, नरेन्द्र महर्जन, मदनमान बज्राचार्य, कपिल द्वालगायतका हलसञ्चालक चयन भएका छन् । तीमध्येबाट संघका पदाधिकारी चयन हुनेछन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org