ताजा समाचार

हाँस्य कलाकार शिवहरि पौडेलले यसरी सुनाए आफ्नो बाल्यकाल

काठमाडौं ।  जीवन सुखदुःखको मिश्रण हो भन्छन् । तर, मेरो जीवनमा दुःखको लामो शृंखला नै चल्यो । यो शृंखलाको पहिलो ‘इपिसोड’ म चार वर्षको हुँदा नै सुरु भयो । त्यतिवेला म घरमा बाख्राका पाठाहरूसँग खेल्थेँ । पिँढीमा डोकोभित्र म र बाख्राका पाठा बस्थ्यौँ । ती पाठासँग समय बितेको पत्तो नै हुँदैनथ्यो ।

मेरो घर अमलेखगन्जमा ‘हाइवे’छेउमै थियो । बुवाले ‘हाइवे’पारि एउटा छाप्रो बनाउनुभएको थियो । चर्को गर्मी हुँदा हामी त्यहाँ जान्थ्यौँ । एकदिन म बाख्राका पाठासँग खेल्दै थिएँ । बुवा घरबाट निस्किएर छाप्रोमा जानुभयो । एकछिन पछि म पनि डोकोबाट निस्किएर छाप्रोतिर गएँ ।

‘हाइवे’को बीचमा पुग्द-नपुग्दै मलाई एउटा ट्रकले ठक्कर दियो । म रोडमा पछारिएँ । मेरो टाउकोमा गम्भीर चोट लागेको रहेछ । टाउकोमा मात्रै आठवटा टाँका लगाउनुपर्‍यो । दाहिने हात भाँचियो । अहिले पनि सीधा हुँदैन । दुई महिना अस्पताल बसेपछि म घर फर्किएँ रे ! त्यो घटनामा मेरो आशै मारिएको थियो रे !

घरको आर्थिक अवस्था कमजोर भए पनि पढ्नुपर्छ भन्ने चेतना थियो । घरभन्दा तीन किलोमिटर पर एउटा स्कुल थियो । म त्यहीँ जान्थेँ । बिहान उठेपछि गाईगोरुलाई जंगलमा लैजानुपथ्र्यो । बस्तुलाई जंगलमा लगेर छाडेपछि घर आएर स्कुल जान्थेँ । स्कुलबाट फर्केपछि बिहान जंगलमा छाडिएका गाईगोरु लिन जानुपथ्र्यो ।

आमाले कहिलेकाहीँ चिउरा र चिनी मिसाएर खाजा बनाइदिनुहुन्थ्यो । हाफ पाइन्टको गोजीमा त्यो चिउरा राखेर खाँदै गाई लिन जान्थेँ । चिउरा सकिनेवेला गुलियो बढ्दै जान्थ्यो । त्यतिवेला लाग्थ्यो, सधैँ यस्तै मीठो खान पाए पो !

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org