ताजा समाचार

अमला अधिकारीको गलज सङ्ग्रह ‘आरन’ विमोचित

 

काठमाडौं । अमला अधिकारीको गजल सङ्ग्रह ‘आरन’ को विमोचन गरिएको छ । शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा गजलकार शितल कादिम्वीनी, रुपक वन्वासे, रावत, आरनका लेखक अमला अधिकारी र शिखा बुक्सका प्रकाशकले संयुक्त रुपमा पुस्तकको विमोचन गरेका हुन् ।

पुस्तकमाथि आफ्नो विचार राख्दै शितल कादम्बिनीले भनिन्, ‘अमलाका गजलले सत्तरीको दशकमा मात्रै के कुरा वषौँ वर्षसम्म प्रभाव छोड्न सक्छन् । गजलमा गाउँ, खेती किसानी र महिलाका पीडा लेखिएको हुनाले हाम्रो जीवनकै छेउकुनाबाट टिपिएका हुन् । कादम्बिनीले थपिन्, ‘अमलाको आफ्नै सिग्नेचर छ गजलमा । उनका गजलले नेपाली साहित्यमा नयाँ आयाम थपेको छ ।’

त्यस्तै अर्का गजलकार रुपक बनवासीले भने, ‘अमलाका गजल देखेर इष्र्या लाग्छ । यो मैले किन नलेखेको हुँला । यिनका गजलले नयाँखाले गजलको धार निर्माण गरेका छन् । सामाजिक विषय र सूक्तिमय शैलीले गर्दा यिनका गजलको प्रभाव छुट्टै छ । नारीहरुमध्ये उत्कृष्ठ भन्यो भने पनि अत्युक्ति हुुँदैन ।’ गजल परम्परामा अग्रजको योगदान नभुल्ने हो भने यस अघिका राम्रा नारी हस्ताक्षरका माझमा अमला अझै उत्कृष्ट गजल साथ आएकी छन् ।’ वनबासीले थपे, ‘यिनका गजलको प्रभाव छुट्टै छ ।’ वनबासीले थपे, ‘यिनका गजलले भावको व्यापकता ओगटेको छ ।’

कवि रावतले भने, ‘साठीको दशकपछिको समय नेपाली गजलको स्वर्ण युग हो ।’ किनभने अमलाहरुले यसै समयमा गजल लेखेका हुन् ।’ रावतले थपे, ‘अमलाको गजल लेख्ने तरिका अरु धेरै गजलकारको भन्दा भिन्न र परिपक्व छ । उनका हरेक सेर आफैँमा मुक्त छन् । एउटा सेरको भाव बुझ्न सिङ्गो गजल पढिरहनु पर्दैन ।’
शिखा बुक्सले प्रकाशन गरेको ‘आरन’ को मूल्य १७१ रहेको छ । प्रकाशक पुष्पराज पौडेलले भने, ‘राम्रो लेख्ने लेखकले पहुँचको पछि नलागी सिधै हामीलाई सम्पर्क गर्नु होस् ।’

सिन्धुलीको बाहुनतिल्पुङमा जन्मिएकी गजलकार अमला अधिकारी कविता लेख्नमा पनि उत्तिकै पोख्त छिन् । यिनको २०६८ सालमा ‘अमला’ गजलसंग्रह, २०६९ सालमा ‘आगो’ गजल सङ्ग्रह प्रकाशित भएको छ भने ‘अमला’ २०६९ सालको मधुवन वर्ष पुरस्कार प्राप्त कृति हो ।

पुस्तकको सुन्दर आवरण तथा डिजाई सन्तोष कुमार दाहालले गरेका हुन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org