ताजा समाचार

आफ्नै गीत खोज्दै चर्चित लोकगायक राजु परियार !

 

काठमाडौं । ‘धोका दिनेलाई के भनौं र खै, तिमी हाँस भो मै बाँचौला रोइ ।’ ‘हङकङ मलाया, मायाले मै टाढा भएनी चिठी चलाए ।’ ‘लालुपाते नुग्यो भुइँतिर, कि लाउँ माया मैतिर कि लाउ उहीतिर, निर नलाउँ दुईतिर ।’

यी र यस्तै असंख्य लोकगीत गाएर नेपाली लोकगीत पारखीमाझ ख्याति कमाएका राजु परियार अचेल भने सांगीतिक संसारमा त्यति सारो देखिदैनन् ।

वि.सं. २०३७ असार १५ गते लमजुङको गाउँसहर गाविस–९ मा जन्मेका राजुले सात वर्षको उमेरदेखि नै जानेर–नजानेर गीत गाउन थालेका हुन् ।

सांगीतिक र शिक्षा क्षेत्रका गुरु जीवन घिमिरेको प्रेरणाबाट सात वर्षको उमेरदेखि गीत गाउन थाले ।

बालककालदेखिकै मोहले सांगीतिक क्षेत्रमा होमिएका राजुले पहिलोपटक १९ वर्षको उमेरमा ‘लालिचढेछ’ भन्ने गीति एल्बमका लागि ‘किसिमकोटमा लालिचढेछ’ भन्ने गीतमा स्वर रेकर्ड गरे ।

उनले आफ्नै रचनाका सय बढी गाएका छन् । हजार बढी अरुका शब्दमा स्वर दिएका छन् ।

उनी भन्छन्–‘मैले कति गीत गाए भन्नेबारेमा अहिले मानिस लगाएर खोजी गरिरहेको छु ।’

उनको गीतले धेरैको मन र मुटु छोएको छ । धेरै प्रशंसक कमाएको पनि छ । धेरैले उनको स्वर र गीत मन पनि पराएका छन् ।

तर, उनी आफैंलाई भने ‘सुनपानीले छर्क मायालु’, ‘रुमाल धोको छु’, ‘वनमा काँडा छ’, ‘मौरी फूलमाथि’, ‘दरौं सिरुबारी’, ‘जानेलाई जानदेउ मायाँ’, ‘मिर्मिरेको घाम’, ‘हङकङ मलाया’, ‘धोका दिनेलाई के भनौं र खै’ र ‘लमजुङ जाने दाइ’जस्ता बढी मनपर्छ ।

झन्डै दुई दशकको गायन क्रियाशीलताले उनलाई केवल प्रशंसकमात्र होइन, पुरस्कार पनि दिलाएको छ ।

पूर्वराष्ट्रपति डा. रामवरण यादवको हातबाट प्रवल जनसेवा श्री चौंथो विभूषण, भारतको पुनाबाट प्राप्त डा. अम्बेडकर पुरस्कार र नातिकाजी युवा प्रतिभासहित रेडियो, एफएम स्वदेश र विदेशका विभिन्न संघ–संस्थामार्फत् थुप्रै सम्मान र पुरस्कार पाइसकेका छन् ।

परियार पहिले र अहिलेको गीतमा फरक पाउँछन् । उनी भन्छन्–‘पहिले मौलिक खालको शब्द, गीत र शैली थियो तर अहिले गायनको पूरै ढर्रा परिवर्तन भएका छन्, सायद सर्जक टाठाबाठा भएर हो कि !’

उनको गीत नेपालकै हिमाल, पहाड र तराईमामात्र गुन्जिएको छैन, भारत, चीन, बेलायत, जापान, इजरायल, साउदी अरब, दुबई, कतार, बहराइन, मलेसिया, सिंगापुर, हङकङ, कोरिया र युरोपेली मुलुुकमा पुगेर गीत गाइसकेका छन् ।

अहिलेसम्मको बुझाइमा लोकभाका गाउने तर लोकगायक बन्न गाह्रो हुने राजुको अनुभव छ ।

‘शब्द चयन, गायनप्रतिको समर्पण र निरन्तर सांगीतिक अभ्यासबिना सांगीतिक क्षेत्रमा टिक्न गाह्रो हुन्छ’–उनी भन्छन्–‘अग्रज र गुरुले स्वरमा निखार ल्याउन दिएको निर्देशन र मेरो गीतप्रतिको आफ्नै रुचीले मलाई एउटा सफल गायककारुपमा उभ्याएजस्तो लाग्छ ।’

नयाँ पुस्तालाई मेहनत, परिश्रम र गीत–संगीतको मर्मअनुसार प्रतिस्पर्धा गर्नसक्ने गरी यो क्षेत्रमा लाग्न सुझाव दिने उनी आफैं भने गीत गाएर अझै थोकेका छैनन् ।

उनको नयाँ लोकगीत छिट्टै बजारमा आउँदैछ । जसको शब्द छ–‘बग्यो कालीगन्डकी, बल्लबल्ल दियौ प्रभु, नयाँ साथी नयाँ जिन्दगी ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org