ताजा समाचार

निर्वाचनमा अन्तर्घात गरे छाडिन्न : सभापति देउवा

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले आगामी स्थानीय तहको निर्वाचनमा पार्टीको नीतिविपरीत लाग्नेलाई कारबाही गरिने बताएका छन् । कांग्रेसमा अनुशासनहिनता बढेको तर कारबाही नहुँदा अन्तर्घात भइरहेको भन्दै उनले अब त्यसो गर्नेलाई नछाडिने बताएका हुन् ।
‘अनुशासन तोडे पनि कारबाही नगर्ने चलनले आफ्नै उम्मेदवारलाई हराउने गरिएको छ,’ निर्वाचन केन्द्रित कांग्रेस पोखरा नगर सम्मेलनको बिहीबार उद्घाटन गर्दै देउवाले भने, ‘अनुशासनबिना पार्टी अघि बढ्न सक्दैन । पार्टीको नीतिविपरीत कोही लागेमा कडा कारबाही हुनेछ । अबको निर्वाचनमा अनुशासन तोड्ने कामको अन्त्य हुनुपर्छ ।’

उनले एक ढिक्का भएर निर्वाचनमा होमिन कार्यकर्तालाई निर्देशन दिए । अब तेरो र मेरो नभनी राम्रो अर्थात् जित्ने मान्छेलाई स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनाउनुपर्ने उनले बताए ।

जित्ने मान्छेको चयनमा सबैले सहयोग गर्नुपर्ने तर अन्तर्घात भने गर्न नहुने उनले बताए । राणा, पञ्चायत फाल्ने कामको नेतृत्व कांग्रेसले गरेको गणतन्त्र, संघीयताको नेतृत्व पनि कांग्रेसले नै गरेकाले अब कांग्रेस हार्नु नहुने भन्दै उनले प्रजातन्त्रको सुदृढीकरणका लागि कांग्रेस अपरिहार्य रहेको बताए । । अरु दलले आफू प्रजातान्त्रिक भने पनि त्यो रणनीतिकमात्रै रहेको उनको दाबी थियो । ‘जनताको अधिकार स्थापित गर्न कांग्रेसले जित्नै पर्छ,’ उनले भने ।

कार्यक्रमपछि पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै देउवाले सीमाना कुरेर बसेका मधेसीको माग पूरा गर्नुपर्ने भएकाले संविधान संशोधनमा सघाउन एमालेसँग आग्रह गरे । मधेसका माग पूरा नगरी एमाले मधेसविरोधी किन बन्नु पर्‍यो भन्दै उनले हिमाल, पहाड र तराईबीचको दूरी तथा दूश्मन बढाउन नहुनेमा जोड दिए । सप्तरी घटना दुःखद् भन्दै उनले छानबिन भइरहेकोले अहिल्यै केही नबोल्ने बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org