ताजा समाचार

सत्ताका चरित्र फेर्नु र उपलब्धि संस्थागत गर्नुभन्दा कुर्सीको ध्यानले कठिनाइमा माओवादी

यो समय सत्ताचरित्र फेर्ने स्थानीय तहको चुनावको हो । यो चुनाव गाउँ/नगरपञ्चायत, गाउँ/नगर विकास समितिको जस्तो मात्रै हैन, गाउँ/नगरपालिकाको चुनाव हो । एकाथरी मानिस चुनावलाई पहिलाको जस्तै मान्दैछन् भने कतिपयले यसलाई हुन नदिएर संविधान निरर्थक बनाउँदै पुरानै यथास्थितिको सपना देख्दैछन् । कुनै सन्दर्भको प्रगतिशीलता रूपमा जे देखिए तापनि अर्को समयमा सोही प्रकारको सक्रियता प्रतिक्रियावादको सहयोगी बन्न पनि सक्छ । समयको छनोटले काम मूल्यांकन हुन्छन् । अहिले द्वन्द्वकालीन मुद्दा, अदालती सक्रियता र समय चयन भने द्वन्द्व न्यूनीकरण गर्ने देखिँदैनन् । हरेक स्थायी सत्ता जहिले पनि परिवर्तनको भाषा बुझ्न अक्षम भएर संक्रमणकालीन न्यायको बाटो पछ्याउन पनि सक्दैन् । अहिले घटना त्यस्तै अस्वाभाविक तरिकाले बढ्दैछन् ।

‘शान्तियात्रा’ को प्रथम प्रहरमै भारतीय सर्वोच्च अदालतका वरिष्ठ वकिल एवं मानव अधिकारकर्मी कोलिन गोञ्जालेजले भनेको कुरा अहिले याद आउँछ । ‘विद्रोह जति सजिलो छ, उपलब्धि दस्तावेजीकरण गर्नु त्यति नै कठिन हुन्छ । यति ज्यादा रगत नेपालमा बगिसकेको छ त्यही रगतले परिवर्तनको संविधान लेख्न सकिन्छ । जति ढिलाइ हुन्छ त्यति नै पुराना शक्ति कुनै न कुनै रूपमा सक्रिय हुन्छन् । आन्दोलनको ऊर्जा मत्थर पर्दै जाँदा उपलब्धि रक्षा गर्न गाह्रो हुनेछ । नयाँ रूपका प्रतिविद्रोह लोकप्रिय आवरणमा सक्रिय हुन सक्छन् ।’

समय घर्कन जाँदा 
संघर्षशील जनता भने अत्यन्तै संवेदनशील हुन्छन् । तर परिवर्तनको राप र ताप भने क्रमशः सेलाउँदै जान्छ । हरेक युद्ध र विद्रोहले चरम महत्वाकांक्षा जगाइदिन्छ । केही द्वन्द्व सत्ताको रूपमात्रै हैन्, गुण नै फेर्ने हुन्छन् भने केहीको चरित्र प्रतिक्रियावादी हुन्छ । सबैखाले द्वन्द्वका चरित्र प्रगतिशील मात्रै हुँदैनन् । जातीय, क्षेत्रीय र धार्मिक द्वन्द्वका चरित्र मानवता विरोधी हुन्छन् । त्यही उन्माद फैलाएर आफ्ना आपराधिक चेहरा छिपाउँदै सत्ताखेल हुन पुग्छ । तर प्रगतिशील विद्रोहले भने सत्ताधारी वर्ग र सनातन मर्ममाथि आक्रमण गर्ने हुँदा पराजीत शक्तिले परिवर्तनलाई तत्काल बाध्यात्मक स्वीकारे पनि टुट्न सक्ने तर झुक्न नसक्ने यो वर्ग मौकाको जोहो कुरिरहेको हुन्छ ।

सोही पक्ष संसारैभर क्रान्तिपछि गृहयुद्धका कारक बन्ने गर्छन् । संक्रमणकाललाई समय घर्काउँदै टुङ्याउनेभन्दा टंङ्याउने योजनावद्ध खेल हुँदै जाँदा संघर्षशील तप्का सुस्ताउन वा विगतका गौरवताको स्वरक्षा गर्न चुक्दै जान्छ । परिवर्तनपछि एउटा तप्काले यस्ता उपलब्धि केही पनि हैनन् भन्ने गर्छ, अर्को पक्ष शान्ति खजबजियो, सनातनमाथि आक्रमण भयो भन्दै भिडको आवेग फैलाएर गुमेको ‘स्वर्ग’को रक्षा गर्न धनञ्जय वायु पनि खर्चने गर्छन् । त्यस्तो बेला वास्तविक परिवर्तनकारीलाई भने महत्वाकाक्षाको उचित व्यवस्थापन गर्दै आफ्नै गौरवशाली नैतिक अपिल गर्ने समाजिक पुँजी कसरी जोगाइराख्ने भन्ने चिन्ता हुँनुपर्ने हो ।  संक्रमणकालको व्यवस्थापन गर्न संघारमा रहेको भू–राजनीतिक संवेदनशील नेपालको अहिलेको अवस्था समय घर्कंदै जाँदा पैदा भएका समस्या हो ।

इतिहास बिर्साउने खेल 
दुई दशकको समय इतिहास हो पनि, हैन पनि ।  समकालीन यथार्थ भने हो । लहडमा चल्ने समाजमा छिटै बिर्सिने अल्जायमर रोग लाग्ने हुँदा इतिहास बिर्साउने योजनाबद्ध अभ्यास त्यत्तिकै जोडतोडसँग चल्छ । २२ वर्षपहिले जन्मेको शिशु अहिले लोर्के युवामात्रै हैन, राज्यको नीति निर्माण तहमा पुगिसकेको छ । ज्ञान, विज्ञान र सामाजिक अभियन्ता बनिसकेको हुन्छ । तर, आलोचनात्मक चेत छैन भने लहड र आग्रहको सिकार पनि बन्ने त्यत्तिकै सम्भावना रहन्छ । अभाव र तनाव छ नै, अस्तब्यस्तता चौतर्फ छ, कानुन र संविधान बबुरो छ, आर्थिकमात्र हैन्, नीतिगत भ्रष्टता चौतर्फी देखिएपछि निरास जनमत भूमिकाबाट पलायन हुन्छ या यो अवस्थाको जिम्मेवार अग्रगामी शक्तिलाई देख्न सक्छ ।

द्वन्द्वकालीन समयको जसरी चित्रण गरिन्छ त्यसैअनुसार धारणा बन्नु र सोहीअनुसारको भूमिकामा उत्रनु स्वाभाविकै हो । त्यसै कमजोर चेतका आधारमा टेक्दै ‘शान्तियुद्ध’ भयानक हुने हुँदा समयको तीतो यथार्थ हैन्, आग्रह उरालिएर मिथ्याचेत पैदा गर्दै विगतको विभत्स चित्रण गर्न थालिन्छ । द्वन्द्वको पीडालाई सनातनी मलम लगाएरमात्र उपचार हुनै सक्दैन । इतिहास होस् या विगत वर्तमानको नजरियाले, चेतले, अवस्थाले मूल्यांकन गर्नै  सकिँदैन् । जनयुद्धकालीन घटना, अवस्था, पात्र र प्रवृत्ति सुन्दर कुरूप पक्ष बुझ्न पनि सकिँदैन ।
कठिनाइमा माओवादी 
हरेक युद्ध, विद्रोहले समग्र समाज र समयमा महत्वकांक्षा बढाएको हुन्छ । त्यसले स्वयम् विद्रोही माओवादीलाई पनि गिजल्यो । सत्ताका चरित्र फेर्नु र उपलब्धि संस्थागत गर्नुभन्दा पनि सरकारले ध्यान खिच्यो । जेमा जोड दिनुपथ्र्याे त्यो तपशीलमा पर्दै गयो । जेलाई कम महत्व दिँदा हुन्थ्यो त्यसैमा ध्यान जानुका कारण संक्रमणकाल लम्बिँदै गयो । विद्रोह, क्रान्ति र परिवर्तनका राप र ताप सेलाउन नपाउँदै परिवर्तनकारी होसियार हुनुपथ्र्यौ । हुन सकेनन् । सत्ता र सरकार भनेको एउटै थिएन् । दोहो¥याइरहनु नपर्ने कुरा भनेको माओवादीले जनयुद्ध त ‘छिचोल्यो’ तर मनोयुद्ध भने छिचोल्न सकेन । गौरवता कौरवतामा फेरिएर एकापसमा भाइ भिडन्त हुन थाले ।  एक प्रसिद्ध अग्रेजी भनाइ छ– स्वतन्त्रताको मूल्य जागरुकता हो ।’ माओवादी आफैँ र आफ्नै गौरवताप्रति न्याय गर्न कति जागरुक बन्यो ? निर्मम समीक्षा नहुँदै भाले भिडन्तमा उल्झँदै गएर फुटमा फेरिए । सरोकारलाई सनसनीमा र सत्यलाई कायर–चतुर्याइँ हुँदै गयो । देश प्रयोगशाला बन्यो । शान्ति प्रक्रिया युद्ध र शान्तिका संघारमा सामन्ती सांस्कृतिक अहंकारका टसलले थिलथिलो हुँदै गयो ।

आयोजक देखिए पनि प्रायोजक नदेखिएको धोवीघाट गलत थियो भन्ने कुरा फेरि भएको माओवादी एकता प्रक्रियाले पुष्टि गरिसक्यो । आक्रमणका तरवार उठाइरहेकालाई प्रहार गर्न अाफैँ शीर्षक दिँदै गयो । विद्रोहीलाई गलाउने, थकाउने, उल्झ्याउने, आपसमै भिडाउने, टुटाउने/फुटाउने, अहंकार, दम्भ र लालसा बढाइदिने सुन्दरता र युगिन उपलब्धि बिर्साइदिने, सामान्य मानवीय कमजोरीलाई तिलको ताड बनाइदिँदै विभत्स चित्रण गरिदिने खेल हुन थाले । त्यसैबेला हो, पुरातन र  यथास्थितिवादी शक्ति बौरिन थालेका ।नागरिक दैनिकबाट 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org