ताजा समाचार

हामी राष्ट्रवादी कि अवसरवादी ?

पछिल्लो समय अर्थात् भारतले नेपालमाथि अघोषित नाकाबन्दी लगाए पश्चात् हाम्रो मुखबाट सबैभन्दा धेरै उच्चारण भएको शब्द सायद ‘राष्ट्रवाद’ नै होला । हामी अरूको नजरमा यति राष्ट्रवादी बन्छौँ कि, संसारमा अन्य कुनै पनि देशका नागरिक आफ्नो देशप्रति हामी जतिको ‘राष्ट्रवादी’ छैनन् । तर, अलि गहिरिएर अध्ययन गर्ने हो भने देशमा सच्चा राष्ट्रवादी होइन अवसरवादी धेरै छन् । अझ हामीकहाँ मौसमी राष्ट्रवादी बढी छन् भन्दा फरक नपर्ला ।
२०७२ असोज ३ मा दोस्रो संविधानसभाबाट संविधान जारी भएपछि २०७२ असोज ६ गतेबाट भारतले नेपालमाथि अघोषित नाकाबन्दी लगायो । त्यसपछि त नेपालमा आफूलाई राष्ट्रवादी भनेर चिनाउन खोज्नेको ठूलै जमात देखियो । त्यसमा पनि भारतको विरोध गरेमा राष्ट्रवादी बनिन्छ भन्नेको जमात ठूलै थियो । यसो भनिरहँदा र यो आलेख तयार गर्दे गर्दा पंक्तिकार स्वयमलाई अराष्ट्रवादीको आरोप नलागोस् । पंक्तिकारले यहाँ राष्ट्र र राष्ट्रवादी व्यक्तित्वहरूको विरोध गर्न खोजेको पनि होइन, मात्र राष्ट्रवादको नारा लगाउने हामी कसरी अवसरवादी बन्छौँ भनेर मात्र प्रस्ट पार्न खोजेको छ ।

डिभी चिठ्ठा भर्ने र कोरिया भाषा परीक्षाको लागि फारम भर्न लाइनमा बस्ने बेलामा राष्ट्रवादको ‘र’ पनि उच्चारण हुँदैन । हामीबाट अरू बेलामा भने उग्र रूपमा राष्ट्रवाद देखापर्छ । भर्खरै मात्र अमेरिकाले डिभी चिठ्ठा को रिजल्ट निकालेको छ । सायद सबैले आफ्नो रिजल्ट पनि हेरिसकेका छन् । एकपटक डिभी खुलेको समय सम्झन चाहान्छु म । त्यस बेलामा पनि एकाएक हाम्रो मनबाट राष्ट्रबाद शब्द गायब भएको थियो । गत कार्तिक मंसिरको महिना हुनुपर्छ जताततै डिभी भर्नेहरूको लाइन देखिन्थ्यो । त्यसमा भर्खरका युवायुवती देखि वृद्धवृद्धासम्म डिभी भर्ने लाइनमा घण्टौं सम्म बसेर डिभी भरेका थिए । अझ, त्यसमा पनि अमेरिकी साम्राज्यवाद मुर्दावाद भनेर नारा लगाउने कमरेडदेखि लिएर आई लभ नेपाल लेखेको टिसर्ट लगाउने युवा–युवतीसमेत डिभी चिठ्ठा भर्ने लाइनमै देखिन्थे ।

त्यसैताका टेलिभिजन कार्यक्रमका चर्चित पत्रकार जसले टेलिभिजनको पर्दामा ‘जय स्वाभिमान’ भनेर राष्ट्रियताको बारेमा जनतालाई बुझाउने र सचेत गराउने गर्थे उनै प्रेम बाँनिया अमेरिका हानिए । त्यस विषयलाई लिएर विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा निकै टीकाटिप्पणी भए । कतिले उनको व्यक्तिगत जीवनको मामला भएको कारण नकारात्मक टिप्पणी गर्न नहुने तर्क राखे । कतिपयले उनी सामाजिक व्यक्तित्व भएकोले सामाजिक पेसाबाट मात्र होइन, देशबाट नै पलायन भएको भन्दै चिन्ता व्यक्त गर्दै विरोध जनाए । हुन त नाम चलेका पत्रकारहरू प्रेम बाँनिया मात्र होइन, त्यसभन्दा अघि अन्य पत्रकार पनि विदेश पलायन भइसकेका थिए । हुन पनि हो नाम चलेका व्यक्तिहरू हुन् या सामान्य युवा हुन् अवसरको खोजीमा विदेश पलायन हुने क्रम अहिलेपनि रोकिएको छैन । प्रेम बाँनिया अमेरिका गए अरू युवा–युवती खाडी जान्छन् । कोही लामो समय उतै बस्छन्, कोही छोटो समयमै फर्कन्छन् । यहाँ हरेक दिन देशका भविष्य विदेशिन्छन् । बानियाँ पर्दा अगाडि थिए अरू युवाहरू पर्दा पछाडि छन् । फरक त्यत्ति हो । केही युवा बाध्यताले विदेशिएका छन् त केही देखासेखी र लिासी जीवन जिउने लोभमा विदेशिएका छन् । खाडी गएका युवा केही समय बसेर फर्कन्छन् । युरोप, अमेरिका लगायत अन्य देशमा गएका नेपाली नागरिकता र पासपोर्टलाई डलरसँग साटेर उतैको नागरिक भएर जीवन बिताउँछन् ।

युवाहरू विदेशिनुको एउटा कारण यहाँको राजनीतिक अवस्था पनि हो । अस्थिर राजनीतिक अवस्थाबाट वाक्क–दिक्क भएर विदेशिने युवाको सङ्ख्या पनि कम छैन हामीकहाँ । केही युवा आफ्नो शैक्षिक योग्यता अनुसारको काम स्वदेशमा नपाएको कारण देखाउँदै विदेशिन्छन्, केही उतैको पीआर पाएर विदेशिन्छन् । आखिर कहिलेसम्म यो क्रम चलिरहन्छ ? युवाहरूले आफ्नो जीवनको ऊर्जावान समयमा विदेशमा पसिना बगाउने हो भने देश कसले बनाउँछ ? हिजो कि सरकारी जागिर छोड कि पीआर छोडभन्दा किन जागिर छाडेर पीआर रोज्ने धेरै देखिए ? किन जन्मभूमि भन्दा विदेशीभूमि प्यारो लाग्दै छ हामीलाई ? देशमा अवसर नभएको खण्डमा कामको खोजीमा युवाहरू विदेशिनु ठीकै हो तर देशमा स्रोत र साधनको सम्भावना हुँदाहुँदै त्यसलाई बेवास्ता गर्दै विदेशिनु कत्तिको जायज होला ? युवाहरू भनेका देशको मेरुदण्ड हुन्, देशलाई विकासको बाटोमा अघि बढाउनुपर्ने ऊर्जावान समयमा युवाहरू विदेशिनुले देशको भविष्य कता जाला ?

केही युवाहरू जसको आर्थिक स्थिति एकदमै कमजोर छ र बिहान बेलुका छाक टार्न नै धौ–धौ छ, उनीहरू बाध्यताले विदेशिएका हुन् । जो युवाहरूलाई दुईछाक खान र एकसरो लाउन दुःख छैन, उनीहरू विदेशिनु उनीहरुको कमजोरी मात्र होईन जीवनकै महाभुल हो । अर्कोतर्क देशमा अथाह सम्भावना हुँदाहुँदै युवाहरूलाई रोजगारी दिन नसक्नु र सरकारसँग भएका कलकारखाना पनि बन्द गर्नु र भएको रोजगारी पनि बन्द गर्नु सरकारको निरीहता हो । युवा पलायनले देश बन्दैन ।

एकातिर कतिपय युवा अवसर नपाएको कारण विदेशिनु परेको बाध्यता सुनाउँछन् । विडम्बना भन्नुपर्छ अर्कोतिर जनशक्तिको अभावमा खेतीयोग्य जमिनसमेत बाँझो छ । भुकम्प गएको दुई बर्ष बित्यो सरकारको आशमा बस्ने पीडितहरुले त घर बनाएका छैनन् । तर,आफूसँग पैसा हुनेहरुले समेत जनशक्तिको अभावमा घर बनाउन सकेका छैनन् । अचेल गाउँमा गएर हेर्ने हो भने अधिकांश घर बनाउने मजदुर भारतिय छन् । किनकि नेपालीहरु त्यसलाई तल्लो स्तरको काम सोच्छन् । त्यस्तै सोचाइका कारण उनिहरु बिदेशिन पुगेका हुन् । हामी आफ्नो देशमा श्रमलाई उच्च र तल्लो स्तरको ब्यक्तिले गर्ने काम भनेर बर्गिकरण गर्छौ । तर, बिदेशमा गएर स्वदेशमा तल्लोस्तरको भनिएको काम गर्न पछि पर्दैनौ । त्यसैले समस्या श्रममा होईन हाम्रो सोच्ने क्षमतामा छ त्यसैे कारण हामी विकासमा पनि पछि परेका हौ ।

पछिल्लो अर्थतन्त्र रेमिट्यान्स मा निर्भर छ भन्दा फरक नपर्ला । तर, रेमिट्यान्सको नाममा भित्रिएको रकम पनि विलासिताको सामान र दैनिक उपभोग्य वस्तु खरिदमै सक्कयाईएको अवस्था छ । रेमिट्यान्सको रकम सही काममा सदुपयोग गर्न सकिएको छैन । देशमा सम्भावना नभएको होइन । यहाँको राजनीतिक अवस्थाको कारण देशमा भएको स्रोत साधनको उपयोग गर्न सकिएको छैन । फेरि हामी युवाहरू नै राजनीतिबाट वाक्क भएर विदेशिने हो भने यहाँको अवस्थामा परिवर्तन कसले ल्याउने ? आखिर देश बनाउने ठेक्का त कसैले लिएको छैन नि ? देश बनाउने जिम्मेवारीबाट हामी युवाहरू नै पछाडि हटे देश कसले बनाउँछ ? एक पटक सबैले गम्भीर भएर सोच्नुपर्ने बेला आएको छ । हुन त राज्यको उपल्लो निकायमा रहेका राजनीतिकर्मी र कर्मचारी खल्तीमा पीआर बोकेर देश चलाइरहेछन् ।

केहिदिन अघि मात्र एकजना बिद्यार्थी नेताले फेसबुकमा लेखे । स्वभियू निर्वाचनमा अध्यक्षको रुपमा निर्वाचनमा होमिएका उनि कुनै देशको भिषा त्यागेर निर्वाचन लडेका रहेछन् । तर त्यसमा उनि सफल भएनन् त्यसपछि बिदेशको लागि कोशिस गरेछन् । यसपटक भिषा लागेछ उनि बिदेश जाने तयारीमा रहेछन् । त्यस्तै आशयको स्ट्याटस लेखेका थिए, उनको ट्याट्याटसको आशय बुझ्दा अब उनि बिदेशिने तयारीमा रहेछन् । सकेसम्म बिदेशिन खोज्ने नसके नेपालमै बसेर राजनीति गर्नेहरुबाट अब हामीले के आश राख्ने ? उनीहरू त आफ्नो स्वार्थ पूरा नहुन्जेल यता बस्छन्, पूरा भएपछि उतै जान्छन् । त्यसैले अब देश बनाउन हामी युवाहरू नै जाग्नुपर्ने बेला आइसकेको छ ।

राष्ट्रवादको नाममा खोक्रा नारा होइन काम गरेर देखाउनुपर्ने बेला आएको छ । प्रत्येक युवामा राष्ट्रवादी भावना जगाउनुपर्ने समय समेत युवाहरुकै काँधमा आएको छ । सकेसम्म बिदेशमा होईन, नेपालमै पसिना बगाउनुपर्छ । हाम्रा देशका युवाले पसिना बगाउँदा खाडिका मरुभूमिमा आज सयौ तलका महल ठडिएका छन् । तर, तिनै मरुभूमिमा पसिना बगाउने यूवाहरुको आफ्नै देशमा भने किन बस्न चाहदैनन् । प्रत्येकले अब गहिरिएर देशको लागि सोचौं । देश विकासको मेरुदण्ड भनेका नागरिकतावाला युवा हुन् पिआर वाला होईनन्। त्यसैले हामी युवाहरू अवसरवादी होइन, राष्ट्रवादी भएर देश निर्माणको बाटोमा अघि बढ्नुपर्ने समयसमेत आएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org