ताजा समाचार

एमालेको संसद अवरोधका कारण देउवालाई प्रधानमन्त्री बन्न ढिलाई !

काठमाडौं, १८ जेठ । नयाँ सरकार गठनको लागि आजदेखि वहुमतिय प्रक्रिया सुरु हुदैँछ । नयाँ सरकारको लागि राष्ट्रपति विद्या भण्डारीले बहुमतीय सरकार गठनका लागि संसदलाई आह्वान गर्नेछिन् । लगत्तै संसदले आफ्नो प्रक्रिया थाल्नेछ । नयाँ प्रधानमन्त्रीको रोलक्रममा रहेका काँग्रेस सभापति शेरबहादुर देउवा यतिबेला नयाँ सरकार गठनको कसरतमा लागेका छन् ।

राष्ट्रपतिले सहमतिय सरकार गठनको लागि दिएको समयसीमा त्यक्तिकै गुजारेका दलहरुले आजदेखि हुने बहुमतिय प्रक्रियाको भने सदुपयोग गर्ने मनसायमा छन् । काँग्रेस र माओवादी केन्द्रबीचको यसअघिको सहमति अनुसार देउवा वहुमतिय प्रक्रिया अनुसार प्रधानमन्त्री बन्ने पक्का छ । तर त्यसको लागि संसद सुचारु हुनुपर्छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने भरतपुर महानगरपालिकाको मतगणना थाल्नुपर्ने माग राखेर संसद अवरुद्ध पारिरहेको छ । जसले गर्दा नयाँ सरकार गठन प्रक्रिया समेत अवरुद्ध हुने देखिएको छ । पुनः मतदान गराउने नियतले मतपत्र च्यातिएको भन्दै एमालेले पुनः मतदान मान्य नहुने बताउँदै आएको छ । निर्वाचन आयोगमा पुगेर आफ्ना धारणा प्रष्ट राखेको एमालेले थप दबाव दिन भन्दै बुधबार संसद अवरुद्ध गरेको थियो । एमालेले आज पनि संसद अबरुद्ध जारी राख्ने एमाले नेताहरुले बताएका छन् ।

एमालेले मतगणना सुचारु गर्न माग गर्दै बिहीबार चितवन बन्दसमेत आहृवान गरेको थियो । तर, पार्टीपंक्ति र सर्वसाधारणबाट चर्को आलोचना भएपछि बुधबार साँझै बन्द फिर्ता गरेको थियो । संसदको अवरोध भने कायमै रहने एमाले संसदीय दलका प्रमुख सचेतक भानुभक्त ढकालले बताए । ‘जुन विषय उठाएर संसदको कारवाही अवरुद्ध भएको हो, त्यो कायमै छ,’ ढकालले भने । सत्तारुढ दलका नेताहरुले भने निर्वाचन आयोगले गर्न सक्ने निर्णयलाई देखाएर संसद अवरुद्ध गर्नु गलत भएको बताएका छन् ।

कांग्रेस र माओवादीले औपचारिक रुपमा भरतपुर घटनाबारे आफ्नो धारणा सार्वजनिक गरेका छैनन् । तर, नेताहरुले जे भयो, गलत भयो र निर्वाचन आयोगले गर्ने निर्णय मान्य हुने बताएका छन् । मतपत्र च्यात्ने प्रतिनिधिको दल माओवादीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड स्वयंले पनि दोषीलाई कारबाही गर्ने र निर्वाचन आयोगले गर्ने निर्णय आफूहरुलाई मान्य हुने बताएका छन् ।

यसका बाबजुद एमालेले संसद अवरोध जारी राख्नु गलत भएको कांग्रेस र माओवादी नेताहरु बताउँछन् । एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले भने आफूहरुको संसद अवरोधका कारण सरकार गठनमा असर परे सत्तापक्ष नै जिम्मेवार हुने बताए । भरतपुर प्रकरणलाई सामान्य रुपमा लिइए भविष्यमा निर्वाचन आयोगले कुनै पनि निर्वाचन गराउन नसक्ने परिस्थिति उत्पन्न हुने एमालेको दाबी छ ।

एमालेले संसद अवरुद्ध गर्दै जाने हो भने नयाँ सरकार गठन प्रक्रिया धेरै लम्बिनेछ । एमालेको भित्रि मनसाय पनि यहि नै रहेको नेताहरुको बुझाई छ । अहिले प्रचण्ड नेतृत्वकै सरकारले दोस्रो चरणको निर्वाचन पनि सम्पन्न गराउनुपर्ने माग राख्दै आएको एमालेले देउवालाई भने सरकारमा त्यत्ति सजिलै जान दिने छाँटकाँट देखिएको छैन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org