ताजा समाचार

जर्मनीले एक १४ वर्षीया नेपाली विद्यार्थीलाई कक्षाबाटै उठाएर नेपाल फर्कायो

काठमाडौं, १९ जेठ । जर्मनले एक १४ वर्षीया नेपाली विद्यार्थीलाई देश निकाला गरेको छ । जर्मनका अधिकारीहरुले विभुषी रानालाई त्यहाँको एक विद्यालयको कक्षाबाटै उठाएर नेपाल पठाएका हुन् । जर्मनीमै जन्मिएकी विभुषी उत्तरी राइन वेष्टफेलिया राज्यको एक उच्च माध्यमिक विद्यालयमा अध्ययनरत थिइन् ।

उनलाई त्यहाँको संघीय प्रहरीले कक्षाकोठाबाट पक्राउ गरेर आमाबुबासँगै नेपाल पठाएको हो । उनीहरुलाई फ्राङर्फट विमानस्थलबाट नेपाल पठाइएको जर्मनका सञ्चार माध्यमहरुले जनाएका छन् । विभुषीको परिवारको जर्मनीमा बस्ने अनुमति सन् २०१३ मा सकिएको थियो । उनीहरुले त्यहीँ बस्न पाउनु पर्ने माग गर्दै अपील गरेका थिए, जुन मार्च २०१६ मा खारेज भएको छ । यो परिवार १५ वर्ष अगाडि जर्मनी पुगेका थिए र शरण माग गर्दै विभिन्न समयमा अपील गरेका थिए ।

शहरको कानुनी विभागका प्रमुख डानियला लेसमाइस्टरले यो परिवारलाई नेपाल फर्काउनु बाहेक अर्को विकल्प अधिकारीहरुसँग नभएको बताएका छन् । जर्मन कानुन अनुसार कुनै पनि व्यक्तिलाई डिपोर्ट गर्नु अघि पूर्व सूचना दिइँदैन । पूर्व सूचना दिएमा उनीहरु भाग्न सक्ने भएकाले यस्तो व्यवस्था गरिएको हो । साथै डिपोर्ट दिनको समयमा गर्ने गरिन्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org