ताजा समाचार

शेरबहादुर देउवा आज १३ वर्षपछि चौथो कार्यकालको लागि प्रधानमन्त्री बन्दै

काठमाडौं, २३ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज प्रधानमन्त्री बन्ने निश्चित भएको छ । प्रमुख प्रतिपक्षी दल एमालेले आजदेखि संसद बैठक चल्न दिने भएपछि बहुमतीय प्रक्रियाबाट देउवा प्रधानमन्त्री बन्न लागेका हुन् ।

सभामुख ओनसरी घर्तीको पहलमा सोमबार साँझ बसेको तीन दलका शीर्ष नेताको बैठकमा एमालेले आज संसद अवरोध नगर्ने प्रतिबद्धता जनाएको हो । एमाले संसद खोल्न तयार भएसँगै कांग्रेस सभापति शेरबहादुर देउवा आजै प्रधानमन्त्रीमा चयन हुने निश्चित भएको छ ।

कांग्रेस सभापति देउवाको पक्षमा झण्डै दुई तिहाई बहुमत देखिएको छ । दिउँसो १ बजे संसद बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्षी नेता केपी ओली र प्रधानमन्त्रीका प्रत्याशी देउवाले पहिलो बैठकमा सम्बोधन गर्नेछन् । त्यसपछि बस्ने दोश्रो बैठकमा प्रधानमन्त्री चयनका लागि मतदान गर्ने तयारी छ ।

देउवा गणतन्त्रपछिको १० औं प्रधानमन्त्री बन्नेछन् । चौथो कार्यकालका लागि प्रधानमन्त्री हुन लागेका देउवालाई संसद्मा झन्डै दुई तिहाइ बहुमतको समर्थन जुटिसकेको छ । बि.स. २०५२ सालमा पहिलो पटक प्रधानमन्त्री भएका देउवा चौथो पटक प्रधानमन्त्री निर्वाचित हुने पूर्वसन्ध्यामा छन्। अन्तिम पटक उनी तत्कालीन राजा ज्ञानेन्द्रले प्रत्यक्ष शासन लिँदा प्रधानमन्त्री थिए। करिव १३ वर्षपछि देउवा पुनः प्रधानमन्त्री बन्न लागेका हुन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org