ताजा समाचार

मतपत्र च्यातिएको घटना दुःखद, पाठ सिकियोः प्रचण्ड, संसदमा अरु के-के भने

काठमाडौं, २३ जेठ । प्रधानमन्त्री प्रचण्डले चितवनको भरतपुर महानगरपालिकामा मतपत्र च्यातिएको घटना गलत भएको बताएका छन् । तर, मतपत्र च्यातिएको घटनालाई जोडेर माओवादीको लोकतन्त्रप्रतिको निष्ठामा प्रश्न उठाइनु गलत हुने प्रचण्डले बताए ।

संसद बैठकलाई मंगलबार सम्बोधन गर्दै प्रचण्डले भने, ‘भरतपुरमा जो घटना भयो दुःखद छ गलत छ । मैले च्यातियो भन्ने सुनेपछि नै गलत भयो भनेको छु र निर्वाचन आयोगलाई प्रमको हैसियतले बोलाएर जे ठीक लाग्छ त्यहि गर्नुस् भनेर भनेको छु । मतपत्र च्यात्नेलाई सही भन्न सकिँदैन ।’ मतपत्र च्यात्न पार्टीले निर्देशन नदिएको र निर्वाचन आयोगलाई पनि पुनः मतदान गर्न दबाव नदिएको प्रचण्डले प्रष्ट पारे ।

प्रचण्डले भने, ‘अपवादको रुपमा यो घटना घटेको छ । ५/६ दिन अगाडि मैले उम्मेदवारलाई रेणु दाहाललाई के भने भनें देबी ज्ञवालीको मत अन्तर बढ्दै गएको थियो, करिब ४ हजार पुगेको थियो । जिते पनि जित्यौ, हारे पनि जित्यौ ढुक्कसँग बस्नु भनें । त्यसपछि तीन दिनसम्म चितवनमा कसैसँग सम्पर्क भएको छैन ।’ आफू लोकतान्त्रिकरण हुन लामो समय लागेको एमालेले उल्टै माओवादीलाई लोकतन्त्रको पाठ सिकाउन खोजेको भन्दै प्रचण्डले आक्रोश पोखे ।

लोकतन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न हतियार व्यवस्थापन लगायतका जोखिम बेहोरेको भन्दै प्रचण्डेले भने, ‘कति प्रमाण चाहियो, इतिहासदेखि वर्तमानसम्मको । १२ बुँदे सहमतिदेखि अहिले राजीनामा दिनेसम्मको । तपाईंहरुलाई कति वर्ष लाग्यो लोकतान्त्रिकरण हुन ?’ उनले अघि भने, ‘यति जोखिमपूर्ण कामहरु सहजतापूर्वक गरेका छौं । लोकतन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्रप्रतिको निष्ठाकै लागि गरिएको छ ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org