ताजा समाचार

माधव नेपालले कोमल वलीलाई भने, स्वाट्टै एकैचोटी किन राप्रपामा गएकी ?

काठमाडौं, २५ जेठ । गायिका एवं राप्रपाकी केन्द्रीय सदस्य कोमल वलीले पूर्वप्रधानमन्त्री एवं एमाले बरिष्ठ नेता माधवकुमार नेपालसँग भेट गरेकी छन् । नेपाललाई भेट्न वली बिहीबार बिहानै उनको घरैमा पुगेकी थिईन् ।

अचानक माधव नेपालसँग भेट्नुलाई वलीले ‘राजनीतिक भेटघाट’ भएको दाबी गरेकी छन् । राप्रपा केन्द्रीय सदस्यमा विजयी भएपछि उनलाई पहिलो बधाई दिने ब्यक्ति माधव नेपाल थिए । उनले कोमललाई बधाई दिँदै भनेका थिए ‘राजनीतिक संसारमा तपाईलाई स्वागत छ, तपाईजस्तो संगीत क्षेत्रमा नाम चम्काउनुभएको मान्छेले राजनीतिमा पनि नाम उचो बनाउनुपर्छ ।’

त्यसो त आफूलाई निर्वाचन आयोगविरुद्ध गरेको आन्दोलनमा चोट लागेका बेला पनि फोन गरेर नेपालले उनको स्वास्थ्य स्थितिबारे जानकारी लिएको कोमलले बताएकी थिईन् । वलीले भनिन् ‘यसकारण पनि म उहाँलाई भेटेरै धन्यवाद दिन आतुर थिएँ ।’

विहीबारको भेटमा नेता नेपालले आफूलाई राप्रपामा किन गएको भनी प्रश्न गरेको वलीले बताइन् । नेता नेपालले ‘तपाईं त हामीलाई थाहै नदिई स्वाट्टै राप्रपामा किन जानुभयो’ भनेर प्रश्न गरेको उनले बताइन् । नेता नेपालको प्रश्नको जवाफमा कोमलले आफू राप्रपाको सिद्धान्तबाट प्रभावित भएको बताएकी थिइन् ।

नेता नेपालसँगको भेटमा तराईको समस्या समाधान र राष्ट्रियताका विषय अनि संविधान संशोधनका विषयमा पनि कुरा भएको कोमलले बताइन् । करिब एक घण्टासम्म नेता नेपालसँग कुराकानी गरेकी कोमलले माधव नेपालको प्रसंशा गर्दै भनिन् ‘उहाँले मेरी आमा बिरामी भएको समेत जानकारी राख्नुभएको रहेछ । आमाको राम्रो ख्याल गर्नू भन्नुभयो ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org