ताजा समाचार

राजपा नेताविरुद्ध खनिदैँ चित्रबहादुर केसीले भने, ‘यो के तमासा हो ?’

काठमाडौं, २६ जेठ । राष्ट्रिय जनमोर्चाका नेता चित्रवहादुर केसी राष्ट्रिय जनता पार्टीका नेताहरुविरुद्ध खनिएका छन् । संविधान संशोधन नभई स्थानीय चुनावमा भाग नलिने चेतावनी दिँदै आएका राजपा नेताहरुलाई केसीले संसद बैठकमै यो के तमासा हो ? भन्दै प्रश्न गरेका छन् ।

प्रधानमन्त्री शेरवहादुर देउवालाई बधाई दिने क्रममा राजपा नेताहरुले आफूहरुले संविधान अझै स्वीकार नगरेको भन्दै संशोधनको माग गरेपछि केसीले आपत्ति जनाएका हुन् । प्रधानमन्त्रीलाई बधाई दिँदै सत्तापक्षका राजपा नेताहरुलाई केसीले सोधे, प्रधानमन्त्रीलाई भोट हाल्नु परेर खुरुरु दौडेर संसदमा आउने, संविधान पनि मान्ने । अनि स्थानीय चुनावमा जनताले भोट हाल्ने बेला संविधान मान्दैनौं भनेर भाँड्न खोज्ने ? यो के तमासा हो ?

केसीले तीन जना प्रधानमन्त्रीलाई भोट हाल्नका लागि मधेसी मोर्चालाई संविधान स्वीकार्य भएको तर, जनताले भोट हाल्ने बेला अस्वीकार्य हुनु बिडम्बना भएको बताए । केसीलाई जवाफ दिँदै राजपा अध्यक्ष मण्डलका अध्यक्ष महिन्द्र राय यादवले भने आफूहरुले संविधान स्वीकार नगरेको बताए । उनले भने, ‘हामीले संविधान मानेका छैनौं, त्यसैले संशोधनका लागि आन्दोलन गरेका हौं, बिगतको अन्तरिम संविधान अन्तर्गत रहेको ६०१ सदस्यीय संसद रहेकाले प्रधानमन्त्री चुनावमा भाग लिएका हौं ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org