ताजा समाचार

राजपालाई चुनावमा सहभागी गराउनेबारे दलहरुको बैठक आज पनि बस्दै

काठमाडौं, ३१ जेठ । राजपालाई चुनावमा सहभागी गराउनेबारे दलहरुको बैठक आज पनि बस्दैछ । असार १४ गते हुने स्थानीय तहको चुनावमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको सहभागिता कसरी सुनिश्चित गर्न सकिन्छ भन्ने विषयमा दलहरुबिच आज छलफल हुन लागेको हो ।

चुनावअघि संविधान संशोधन हुनुपर्ने अडान लिएको राजपालाई मनाउन मुख्य दलहरुबिच छलफल हुन लागेको हो । राजपाले चुनावमा सहभागी हुने लिखित प्रतिबद्धता जनाए प्रदेश नम्बर २ र ५ को चुनाव फेरि सार्न सकिने सत्तारुढ दलहरुको संकेत छ ।

मंगलबार सत्तारुढ कांग्रेस, माओवादी केन्द्र र नेपाल लोकतान्त्रिक फोरम तथा प्रमुख विपक्षी एमालेका शीर्ष नेताको बैठकमा राजपाले उठाउँदै आएको मागको विषयमा छलफल भएको थियो । राजपाले लिखित प्रतिबद्धता जनाएमा चुनावपछि संविधान संशोधन लगायतका माग पूरा गर्न ठूला दल पनि लिखित प्रतिबद्धता जनाउन तयार भएका छन् ।

राजपा चुनावमा आउन तयार भएमा असार १४ मा तोकिएको मिति केही दिन सार्न या प्रदेश नम्बर २ र ५ को चुनाव तेस्रो चरणमा गर्नेबारे पनि छलफल भएको छ । तर प्रमुख विपक्षी एमालेले कुनै हालतमा पनि चुनाव सार्न नहुने बताउँदै आएको छ । चुनावको वातावरण बनाउने विषयमा राजपासहित मुख्य दलहरुको बैठक आज दिउँसो बोलाइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org