ताजा समाचार

आज विश्व रक्तदान दिवसः एक प्रतिशतले मात्रै रक्तदान गरे अभाव नहुने

काठमाडौं, ३१ जेठ । आज विश्व रक्तदाता दिवस । नेपालसहित विश्वभर ‘रक्तदान गरौँ, अहिले गरौँ, समय समयमा गरौँ’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी मनाईंदै छ । रक्त समूह पत्ता लगाउने वैज्ञानिक डा. कार्ल ल्यान्डसटाइनरको जन्मदिन जुन १४ पारेर सन् २००४ देखि विश्व रक्तदाता दिवस मनाउन सुरु गरिएको हो ।

नेपाल सरकारको निर्णयबाट नेपाल रेडक्रस सोसाइटीले २०२३ साल साउन १२ गतेदेखि संस्थागत रुपमा रक्तसञ्चार कार्यक्रमलाई सञ्चालन गर्दै आएको छ । रक्तसञ्चार सेवाको ५० वर्षको इतिहासमा नेपाल रेडक्रस सोसाइटीले विभिन्न रक्तदाता सङ्घसंस्था र स्वयम्सेवी रक्तदाताको सहयोगमा रक्त सङ्कलन गरी आवश्यक सेवा पुर्‍याउँदै आएको छ ।

नेपालमा अहिले देशभरि एक दिनमा झन्डै दुई हजारजना रगतको खोजीमा रक्तसञ्चार केन्द्र पुग्ने गरेको रक्तसञ्चार सेवा केन्द्रको अनुमान छ । ७२ जिल्लामा १०५ स्थानबाट रक्तसञ्चार सेवा पुर्‍याउँदै आएको छ । आवश्यकता र मागबमोजिम केन्द्रीय, क्षेत्रीय, जिल्ला, अस्पताल इकाई र आकस्मिक स्तरको रक्तसञ्चार केन्द्रबाट सेवा पुर्‍याउँदै आएको रेडक्रसले जनाएको छ ।

विभिन्न आविष्कारको बाबजुद पनि कृत्रिम रगत बनाउन सकिएको छैन । त्यसैले स्वस्थ व्यक्तिले दान गरेको रगत नै आवश्यक पर्ने बिरामीका लागि वरदान साबित भएको छ । यसरी मानव जीवन बचाउने रक्तदानलाई सुरक्षित र स्वयम्सेवी रुपमा अभिवृद्धि गर्नका लागि विविध कार्यक्रमलाई निरन्तरता दिन जरुरी देखिन्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org