ताजा समाचार

प्रधानमन्त्री देउवा ज्योतिषीको साइत अनुसार एकाबिहानै पूजापाठ गरी बालुवाटार सरे

काठमाडौं, ५ असार । प्रधानमन्त्री शेरबहादुर देउवा एकाबिहानै सरकारी निवास बालुवाटार सरेका छन् । गत जेठ २३ गते प्रधानमन्त्रीमा निर्वाचित भएपछि पनि बूढानीलकण्ठस्थित आफ्नै निजी निवासमा बस्दै आएका देउवा सोमबार एकाबिहानै सरकारी निवास बालुवाटार सरेका हुन् ।

प्रधानमन्त्री देउवालाई सरकारी निवास सर्न ज्योतिषीले आज बिहान ५ः२२ बजेको उत्तम साइत जुराइ दिएपछि सोहीअनुसार नै बिहानै पूजापाठ गरी सरेका हुन् । जेठ २४ गते प्रधानमन्त्री पदको शपथ पनि देउवाले ज्योतिषीले जुराइ दिएको साइतको समयमा नै लिएका थिए ।

बिहान सरकारी निवासमा प्रधानमन्त्री देउवालाई कर्मचारीले स्वागत गर्दै भवनको साँचो हस्तान्तरण गरेका थिए । सो अवसरमा देउवाको सम्मानमा नेपाली सेनाले सलामी अर्पण गरेको थियो । प्रधानमन्त्री देउवाको शपथ समारोहकै दिनदेखि तत्कालीन प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निजी निवास सरेपछि बालुवाटारको सरकारी निवास खाली थियो । यस अवधिमा सरकारी निवासको मर्मत सम्भार एवम् रङरोगन गरिएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org