ताजा समाचार

शूदुरपश्चिमका सिडिओहरुलाई विप्लवको डर, मागे रक्सी बिक्री बन्द गर्ने आदेश !

धनगढी, ७ असार । शूदुरपश्चिमभरका प्रमुख जिल्ला अधिकारीहरुलाई समेत विप्लव माओवादीको डर देखिएको छ । विप्लव माओवादी असार १४ मा हुने दोस्रो चरणको चुनावमा सुरक्षा चुनौतीका रुपमा देखिएको छ । प्रमुख जिल्ला अधिकारीहरुलाई विप्लव माओवादीले चुनाव विरोधी गतिविधि गरिरहेकोले सुरक्षा चुनौती बढेको बताएका छन् ।

चुनावको सुरक्षा चुनौती विषयमा मंगलबार धनगढीमा आयोजित गोष्ठिमा शुपका सिडिओहरुले गृहमन्त्री समक्ष यस्तो ब्रिफिङ गरेका हुन् । गृहमन्त्री जनादर्न शर्मा, गृहसचिव लोकदर्शन रेग्मी लगायतका अधिकारीहरु समक्ष प्रमुख जिल्ला अधिकारीहरुले सुरक्षा चुनौतीबारे ब्रिफिङ गरेका छन् ।

‘निर्वाचनको पुर्वसन्ध्यामा मदिराको कारण विवाद र झगडा हुने गरेको छ, उम्मेद्वारहरुले युवालाई मदिरा खुवाउँछन अनि त्यहीँ कारण विवाद हुन्छ, जसलाई हामीले सुरक्षा चुनौतीको रुपमा लिएका छौं’ मंगलबार धनगढीमा आयोजित सुरक्षा गोष्ठीमा बाजुराका सहायक प्रमुख जिल्ला अधिकारीले गृहमन्त्रीलाई ब्रिफिङ गर्दै भने, ‘हजुर, चुनावभर मदिरा नियन्त्रण गर्ने आदेश पाउँ ।’

बाजुरामा मात्रै हैन, सुदुरपश्चिममाञ्चल क्षेत्रका अन्य केही जिल्लाका प्रमुख जिल्ला अधिकारीले चुनावको पुर्वसन्ध्यामा अत्याधिक खपत हुने गरेको मदिरालाई पनि सुरक्षा चुनौतीको रुपमा ब्याख्या गरेका छन् । मदिरालाई सुरक्षा चुनौतीको रुपमा ब्याख्या गर्दै कंचनपुरका प्रमुख जिल्ला अधिकारी मनोहर प्रसाद खनालले भने, ‘सुरक्षाका कारण असार ८ गतेदेखी हामीले मदिरा विक्री वितरणमा रोक लगाएका छौं ।’

सुदुरपश्चिमाञ्चलका ९ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र क्षेत्रीय प्रशासकले मंगलबार गृहमन्त्री, गृह–सचिव, निर्वाचन आयोगका आयुक्त, तथा सुरक्षा निकायका प्रमुखलाई दोस्रो चरणको निर्वाचनमा देखिएका सुरक्षा चुनौती र आवश्यक तयारीबारे ब्रिफिङ गरेका छन् । धनगढीमा आयोजित क्षेत्रिय सुरक्षा गाष्ठीमा अधिकांश प्रमुख जिल्ला अधिकारीले विप्लव नेतृत्वको नेकपा, राष्ट्रिय जनता पार्टी, आरक्षण पीडित र सुकुम्बासीले समेत निर्वाचन विथोल्न प्रयत्न गर्ने बताए ।

‘विप्लवका मान्छे कंचनपुरको केही क्षेत्रमा छन्, मधेशबादी र विखण्डनकारी तथा आरक्षणपीडित र सुकुम्बासीले पनि निर्वाचनमा समस्या पार्नसक्ने देखिन्छ’ कंचनपुरका प्रमुख जिल्ला अधिकारी मनोहर प्रसाद खनालले भने, ‘थरुहट तराई पार्टीलाई पनि हामीले सुरक्षा चुनौतीका रुपमा लिएका छौं, जिल्लाको दक्षिणी क्षेत्रमा थरुहटको प्रभाव रहेको छ ।’

भौगोलिक विकटताको कारण सुरक्षा चुनौती हुनसक्ने औंल्याउँदै कैलालीलका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले मतदातालाई सरकारले गाडीमा भोट हाल्न जाने ब्यवस्था गर्न प्रस्ताव गरेका छन् । ‘६ ओटा मतदान केन्द्रमा भोट हाल्नका लागि ६ घण्टा पैदल हिँडेर जानुपर्ने अवस्था छ, मतदातालाई गाडीबाट लाने ल्याउने गर्ने कि ?’ प्रजिअ रिजालले भने, ‘थरुहट थारुवान र अखण्ड सुदुरपश्चिम पक्षधर समुहको अवशेस केही बाँकी छ, उनीहरु अहिले जुर्मुराउन थालेका छन् ।

प्रधानमन्त्रीको जिल्लामा विप्लवको डर

प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेधुराका प्रमुख जिल्ला अधिकारी जनक भट्टले विप्लव माओवादीले निर्वाचन विथोल्न सक्ने बताएका छन् । ‘डडेलधुरामा विप्लवको उपस्थिती देखिएको छ’ प्रजिअ भट्टले भने, ‘विप्लवका कार्यकर्ताको डाटा लिएर निगरानी गरिरहेका छौं ।’ निर्वाचन अवधिमा डडेलधुरामा विप्लवले भूमिगत गतिविधी गरेर निर्वाचन विथोल्न सक्ने भन्दै उच्च निगरानी गरिएको प्रजिअ भट्टले बताएका छन् ।

डडेलधुरा मात्रै नभएर सुदुरपश्चिमका अधिकांश जिल्लाका प्रजिअहरुले विप्लव पार्टीलार्ई मुख्य सुरक्षा चुनौतीको रुपमा औंल्याएका छन् । बझाङ, डोटी, अछाम, दार्चुला, बैतडी लगायतका प्रमुख जिल्ला अधिकारीहरुले विप्लव माओवादी, मदिरा, भौगोलिक विकटता लगायतका विषयमा ब्रिफिङ गरेका थिए । प्रमुख जिल्ला अधिकारीहरुको सुरक्षा अवस्थाबारेको रिपोर्टिङ सुनेपछि गृह–सचिव लोकदर्शन रेग्मीले आवश्यक साधन स्रोतको ब्यवस्थापन परिपुर्ति गरिने जानकारी दिँदै रात–दिन नभनिकन निर्वाचनमा खट्न निर्देशन दिए ।

गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले फिल्डमा खटिएका सुरक्षाकर्मीको मनोवल उच्च राखेर मुख्य योजनानामा सतर्क हुन सुरक्षा अधिकारीहरुलाई निर्देशन दिए । जनताले निर्वाचन चाहेको हुनाले प्रमुख जिल्ला अधिकारीहरुले ब्याख्या गरेको सुरक्षा चुनौती सामना गर्न गाह्रो नहुने उल्लेख गर्दै गृहमन्त्री शर्माले भने, ‘दलहरुवीचको प्रतिस्पर्धालाई सहजिकरण गर्ने काम प्रशासक र सुरक्षकर्मीको हो, त्यसैले निर्वाचनमा पक्षधरता नदेखाउनोस् ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org