ताजा समाचार

नयाँ कपडा नधोईकन कहिल्यै पनि लगाउनुहुँदैन् !

काठमाडौं, ७ असार । पसलबाट नयाँ कपडा किनेर ल्याउनासाथ लगाइहाल्ने धेरैको बानी हुन्छ । नयाँ कपडा आफ्नो लागि ल्याएको होस् या बच्चालाई, कहिल्यै पनि नधोईकन लगाउनु हुँदैन । नयाँ नै लगाउने बानीले शरीरमा छालासम्बन्धी विभिन्न समस्या आउन सक्छन् । कतिपय अवस्थामा कपडा उत्पादन गर्दा प्रयोग गरिने विभिन्न खालका केमिकलले छालामा रियाक्सन गर्नुका साथै इन्फेक्सन पनि हुन सक्छ ।

कुनै पनि डिजाइनको ड्रेसअपमा प्रयोग गरिएको कपडा उत्पादनदेखि सिलाइबुनाइ गर्दासम्म विभिन्न खालका रसायन प्रयोग गरिन्छ । नधोईकन त्यस्ता ड्रेस लगाउँदा शरीरमा असर पुर्‍याउने सम्भावना हुन्छ ।

कपडा तयार गरिसकेपछि प्याकिङ गर्नुभन्दा अगाडि धोइएको त हुन्छ, तर यस्तो धुलाइ सो पहिरनमा चमक ल्याउनका लागि मात्र गरिएको हुन्छ । जसले गर्दा रसायनहरू नष्ट नहुन पनि सक्छ ।

कपडा बिक्री गर्ने पसल या सोरुममा ल्याउने क्रममा विभिन्न चरण पार गर्दै आएको हुन्छ । यस्ता विभिन्न चरण पार गर्ने क्रममा कपडामा विभिन्न प्रकारका फोहोर तथा हानिकारक तत्व लागेको हुन सक्छ । त्यस्ता तत्व नष्ट गर्नका लागि पनि नयाँ कपडा धुनु फाइदाजनक हुन्छ ।

पसल या सोरुममा राखिएका कुनै पनि ड्रेस जोकोहीले ट्राई गरेको हुन सक्छ । आफूले खरिद गर्नुभन्दा अगाडि अन्य व्यक्तिले ट्राई गरेको ड्रेस नधोई लगाउँदा विभिन्न प्रकारका रोग पनि सर्ने सम्भावना हुन्छ । कुनै पनि प्रकारका छालासम्बन्धी समस्याबाट जोगिनका लागि पसलबाट किनेर ल्याएका नयाँ कपडा धोएर मात्र लगाउनु फाइदाजनक हुन्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org