ताजा समाचार

कैलालीमा शान्ति पूर्णरुपमा मतदान सुरु, मतदाता ओसार्न राँगागाडाको प्रयोग

कैलाली, १४ असार । कैलालीमा स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा मतदान आज बिहानदेखि शान्तिपूर्ण रुपमा सुरु भएको छ । क्षेत्रीय निर्वाचन कार्यालय धनगढीका प्रमुख मोहनप्रसाद अर्यालका अनुसार कैलालीसहित ७ नम्बर प्रदेशका सबै जिल्लामा शान्तिपूर्ण रुपमा उत्साहका साथ मतदान सुरु भएको छ । मतदान साँझ ५ बजेसम्म हुनेछ ।

स्थानीय निर्वाचन झन्डै दुई दशकपछि हुन लागेकाले मतदाता मतदान गर्न निकै आतुर देखिएका थिए । निर्वाचनको समय बिहान ७ बजे भएपनि जिल्लाका अधिकांश मतदान केन्द्रमा मतदाता बिहान ५ बजेदेखि नै लामबद्ध भएका देखिन्थे । दिउँसो गर्मी हुने भएकाले पनि अधिकांश मतदाता बिहानै मतदान केन्द्रमा पुगेका छन् ।

प्रत्येक मतदान केन्द्रमा कम्तीमा ५ देखि बढीमा ६ जना कर्मचारी खटिएको क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख आर्यालले बताए । जिल्लाका स्थानीय तहमा २३१ वटा मतदानस्थल र ४९० मतदान केन्द्रको व्यवस्था गरिएको छ ।

जिल्लामा धनगढी उपमहानगरपालिका, टीकापुरनगरपालिका, लम्कीचुहा नपा, भजनी नपा, गौरीगङ्गा नपा, गोदावरी नपा, घोडाघोडी नपा, कैलारी गाउँपालिका, बर्दगोरिया गापा, चुरे गापा, मोहन्याल गापा, जानकीनगर गापा, र जोशीपुर गापासमेत १३ स्थानीय तह रहेका छन् ।

असारे झरीमा पनि मतदाताहरु मतदान गर्न निकै उत्साहित देखिएका छन् । एकातिर रोपाईको चटारो छ भने अर्कोतिर वर्षा तर मतदाताहरु दुवैको प्रवाह नगरी मतदानस्थलसम्म गएर मतदान गरिरहेका छन् । कैलालीको उर्मामा भने फरक दृश्य देखिएको छ । मतदाताहरुले मतदानस्थल सम्म जान राँगागाडाको प्रयोग गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org