ताजा समाचार

अब चक्रपथमा ट्रक र टिप्पर गुड्न नपाउने, गुडाए ट्राफिक प्रहरीले कारवाही गर्ने


काठमाडौं, २७ असार । काठमाडौंको चक्रपथ (रिंगरोड) मा पनि अब ट्रक, टिप्पर र मिनि ट्रकहरु चल्न नपाउने भएका छन् । सवारी जाम हुने ‘पिक’ समयमा चक्रपथमा ट्रक, टिप्पर र मिनि ट्रक चल्न रोक लगाईने भएको हो । भोली (बुधबार) देखि यो नियम लागू हुनेछ ।

यातायात ब्यवस्था विभागको पहलमा मंगलबार बसेको सरोकारवालाको बैठकले जाम बढी हुने समयमा चक्रपथमा ट्रकरटिप्परलाई सवारीलाई प्रवेश र सञ्चालन गर्न नदिने निर्णय गरेको हो । रिंगरोडमा पनि अब यस्ता सवारीले समय सीमा हेरेर मात्रै सवारी सञ्चालन गर्न पाउनेछन् ।

भोलि बुधबारदेखि विहान साढे ८ बजेदेखि साढे १० बजेसम्म र दिउँसो साढे ३ बजेदेखि साढे ६ बजेसम्म ट्रक र टिप्परलाई चक्रपथमा पनि चल्न नदिइने यातायात विभागका प्रवक्ता डा. टोकराज पाण्डेले जानकारी दिए । चक्रपथमा अब पिक आवरमा ट्रक, टिप्पर र मिनि ट्रक सञ्चालन गरे ट्राफिक प्रहरीले कारवाही गर्नेछ ।

‘रिंगरोडमै पनि सवारी जामको समस्या उच्च भयो, कलंकी, कोटेश्वर, गौशाला, चाबहिल लगायत क्षेत्रमा जाम धेरै बेर हुँदा यात्रुले सास्ती पाए,’ पाण्डेले भने, ‘त्यसैले हामीले जाम हुने मुख्य समयमा ट्रक, टिप्पर, मिनि ट्रकलाई चल्न नदिने निर्णय गर्‍यौं ।’

रिंगरोडभित्र ट्रक, टिप्पर र मिनि ट्रक विहान ६ देखि बेलुका ८ बजेसम्म सञ्चालन नहुने ब्यवस्था पनि कायम राखिएको छ । यो व्यवस्थाले राजधानीमा हुँदै आएको जाम कम हुने सरोकारवालाले विश्वास लिएका छन् । पछिल्लो समय नारायणगढ मुग्लिन सडकखण्डमा रातको समयमा गाडी चल्न नदिँदा त्यसको प्रत्यक्ष असर राजधानीमा परेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org