ताजा समाचार

सरकार गठन भएको डेढ महिनापछि आज मन्त्रिपरिषद् विस्तार हुँदैं, यी हुन् सपथ लिने १८ मन्त्रीहरू

काठमाडौं, १० साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । प्रधानमन्त्रीमा निर्वाचित भएको लामो समय वितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेको चौतर्फी आलोचना खेपिरहेका देउवाले आज विस्तार गर्न लागेका हुन् । प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सोमबार नै मन्त्रिपरिषद् विस्तार गर्ने बताएका थिए । तर नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सोमबार नसकिएका कारण मन्त्रिपरिषद् विस्तार गर्न नसकेको भन्दै आज विस्तार गर्न लागेका हुन् ।

आइतबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको छलफलमा देउवाले सोमबार मन्त्रिपरिषद् विस्तार गर्ने वचन दिएका थिए । प्रचण्डले मन्त्रिपरिषद् विस्तारमा धेरै ढिलाइ भएको भन्दै प्रधानमन्त्रीको आलोचना गरेका थिए । पार्टी बैठकमै सरकार सुस्त भएको भन्दै प्रधानमन्त्री देउवाको चर्को आलोचना भएको थियो ।

माओवादी केन्द्रले मन्त्रिपरिषद्मा जानेको नाम टुंगो लगाए पनि कांग्रेसमा भने अझै टुंगो लाग्न सकेको छैन । कांग्रेसभित्रै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षलाई ५, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र नेता खुमबहादुर खडका पक्षबाट एकरएक जना भागबन्डाका आधारमा मन्त्री बनाउने तयारी देउवाको छ ।

पौडेल पक्षबाट बलबहादुर केसी, रामकृष्ण यादव, राजेन्द्रकुमार केसी, सरिता प्रसाईं, कमला पन्तलगायतको नाम चर्चामा छ। यसअघि मन्त्री र राज्यमन्त्री भइसकेकालाई दोहोर्‍याउन नहुने दबाब पौडेल पक्षमा छ । सिटौला पक्षबाट भीमसेनदास प्रधान र खड्का पक्षबाट मोहनबहादुर बस्नेतलाई मन्त्रीमा पठाउने तयारी छ । प्रधानमन्त्री देउवालाई आफ्नै समूहबाट मन्त्री छान्न धौ–धौ परेको छ ।

मन्त्री बनाउनेहरूमा समावेशी र भौगोलिक सन्तुलन मिलाउन पार्टीभित्रैबाट देउवालाई तीव्र दबाब छ । देउवा पक्षबाट भरत शाह, मीन विश्वकर्मा, अम्बिका बस्नेत, भीष्म आङदम्बे, अर्जुन जोशीलगायतको नाम चर्चामा छ ।

माओवादीले मन्त्रीको नाम टुंग्याए पनि सार्वजनिक गरेको छैन । स्रोतका अनुसार माओवादी केन्द्रबाट गिरिराजमणि पोखरेल, महेन्द्रबहादुर शाही, आशा खनाल, टेकबहादुर बस्नेत, सीता नेपालीलगायतको नाम मन्त्रीको लिस्टमा समावेश भएको चर्चा छ । फोरम लोकतान्त्रिकले भने यसअघि नै मन्त्री भएका जितेन्द्र देव र गोपाल दहितलाई पठाउने भएको छ। कांग्रेसबाट १०, माओवादी केन्द्रबाट ६ र लोकतान्त्रिक फोरमबाट २ समेत गरी आज १८ मन्त्री थप गर्ने तयारी देउवाले गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org