ताजा समाचार

नेपाल र चीनबीच तीन वटा सम्झौतामा हस्ताक्षर, पेट्रोल अन्वेषणका लागि चीनले सर्वेक्षण गर्ने

काठमाडौं, ३१ साउन । नेपाल र चीनबीच तीन वटा सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतापछि चीनले भूकम्पपछिको पुनर्निर्माणका लागि एक अर्ब चिनियाँ आरएमबी अनुदान र प्राविधिक सहयोग उपलब्ध गराउने छ । उक्त रकम अरनिको राजमार्गको स्तरोन्नती तथा रसुवाको टिमुरेमा पुल निर्माणका लागि खर्च गरिनेछ ।

त्यस्तै पेट्रोलियम, ग्यास तथा खानी अन्वेषणका लागि सम्भाव्यता अध्ययन गर्ने सम्बन्धी सम्झौता पनि भएको छ । त्यसका लागि समयावधि तोकिएको छैन । सोही अवसरमा नेपालमा चिनियाँ निजी क्षेत्रको लगानी भित्र्याउनेसम्बन्धी समझदारीपत्रमा समेत हस्ताक्षर भएको छ । त्यसमा कृषिको आधुनिकीकरणलगायत विषय समेटिएका छन् ।

पूर्वाधार निर्माणको पाटो चिनियाँ लगानी आउने भएको छ । सडक, सुरुङमार्ग, विद्युत ट्रान्समिसन लाइन निर्माण र उत्पादनमा लगानी आकर्षित गर्ने सरकारी योजना छ ।

नेपालका तर्फबाट अर्थसचिव शान्तराज सुवेदी र चिनियाँ वाणिज्य मन्त्रालयका सचिवले सम्झौतारसमझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । उक्त अवसरमा उपप्रधान तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदार, उपप्रधान तथा परराष्ट्र मन्त्री कृष्णबहादुर महरा तथा नेपाल भ्रमणमा रहेका चिनियाँ उपप्रधानमन्त्री वाङ याङको उपस्थिति थियो ।

हस्ताक्षर समारोहअघि भएको द्विपक्षीय वार्तामा नेपालले तातोपानी नाका सञ्चालनमा ल्याउन विशेष आग्रह गरेको थियो । चिनियाँ पक्षले त्यसमा सैद्धान्तिक सहमति जनाएको छ । सोही कारण अनुदान सहायता अरनिको राजमार्गको स्तरोन्नतीका लागि खर्च गरिने भएको हो ।

चीन सरकारले बाढीपहिरोका कारण नेपालमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै आपत्कालीन सहायतास्वरुप १० लाख अमेरिकी डलर नगद उपलब्ध गराउने घोषणा गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org