ताजा समाचार

प्रचण्ड ओलीतिर लम्किएपछि प्रधानमन्त्री देउवा कानूनविदहरुसँग परामर्शमा

काठमाडौं, १८ असोज । प्रधानमन्त्री तथा नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले कानुनी परामर्श थालेका छन् । नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीच भएको ६ बुँदे सहमतिबाट अत्तालिएका प्रधानमन्त्री देउवाले कानुनी परामर्श थालेका हुन् । प्रधानमन्त्री देउवाले सरकारको पुर्नगठन देखि लिएर संसद भंगसम्म बारे कानुनविद्हरुसँग परामर्श थालेका हुन् । नेकपा माओवादी केन्द्रले प्रमुख प्रतिपक्षी दल एमालेसँग चुनावी गठबन्धन र पार्टी एकता गर्ने प्रक्रिया अगाडि बढाएपछि उत्पन्न परिस्थितिका बारेमा प्रधानमन्त्री देउवाले कानुनी परामर्श थालेका हुन ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री देउवालाई मंगलबार दुई पटक भेटेर एमालेसँग चुनावी तालमेल गरेपनि सरकारलाई दिएको समर्थन फिर्ता नलिने र बर्तमान सरकारले नै निर्वाचन गराउने बताएका थिए । बरिष्ठ अधिवक्ताहरु बद्रीबहादुर कार्की, महादेव यादव, बसन्तराज भण्डारी, बिपिन अधिकारीसहित नेपाल बार एशोसियनका पदाधिकारीहरुलाई प्रधानमन्त्री देउवाले परामर्शका लागि बोलाएका छन् ।

समसायिक राजनीतिक अवस्थाका बारेमा कानुनविदहरुसँग परामर्श गर्न लागिएको प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए । प्रधानमन्त्री देउवाले बिभिन्न पेशा र व्यवसायीहरुसँग बृहत लोकतान्त्रिक गठबन्धन निर्माण गर्ने बारेमा परामर्श गर्ने क्रममा कानुन क्षेत्रका बिज्ञहरुसँग पनि परामर्श गर्न लागेको परियारले जानकारी दिए । लोकतान्त्रिक गठबन्धनलाई प्रभावकारी बनाउन प्रधानमन्त्री देउवाले परामर्शलाई निरन्तरता दिने उनले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org