ताजा समाचार

नेपालीभूमि मिचेर भारतीय बस्ती, नेपाली बस्ती हटाईएपनि भारतका जस्ताका त्यस्तै

मोरङ, २१ असोज । मोरङको जहदा गाउँपालिकामा नेपाली भूमि मिचेर भारतीयले बस्ती बसाएका छन् । जहदा-७ तारेगामास्थित नेपाल(भारत सीमास्तम्भ (जंगेपिलर) पीपी १७४/पीपी ६२ नम्बरसँगै टाँसेर घर बनाएका छन् । सीमाक्षेत्रमा भेटिएका स्थानीय सञ्जयकुमार साहका अनुसार जनवरीमा नेपाल-भारत संयुक्त टोलीले सीमाक्षेत्रको नापी गरेको थियो । त्यसबेला सीमास्तम्भभन्दा उत्तरतर्फ नेपालीका केही घर हटाइएको भए पनि भारतीय बस्ती भने जस्ताको तस्तै छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

विराटनगरको रानी भन्सारबाट १७ किलोमिटर दूरीमा पर्छ-तारेगामको उक्त बस्ती । त्यहाँसम्म पुग्न केही कालोपत्रे सडक भए पनि धरैजसो भाग भने कच्ची ग्राभेल पर्छ । दसजगा क्षेत्रसँग जोडिएको चियाखाजा पसलका सञ्चालक नेपाली नागरिक फूलमान साहले भने, ‘यहाँ बडा रामराज्य छ । हामी वारिपारिका मिलेर बस्छौं । कोही सुरक्षाकर्मीको जरुरी नै छैन । को नेपाली र को भारतीय भन्ने भेदभाव हामीबीच छैन ।’

भारततर्फ बिहार राज्यअन्तर्गत अररिया जिल्लाको सोनामनी गोदाम पर्छ भने नेपालतर्फ चाहिँ जहदा गाउँपालिकाको वार्ड नम्बर ७, तारेगामा बजार पर्छ । दुईतर्फ बस्तीको बीचमा केही भाग खाली जस्तो त देखिन्छ तर दसगजा क्षेत्र कहाँ हो भनेर छुट्ट्याउन सक्ने अवस्था छैन । ‘नो म्यान्स ल्यान्ड’ (निर्जन) भनिने नेपाल/भारत सीमाको दसगजा क्षेत्रमा नेपाल र भारत दुवै देशले दस/दस गज खाली छाड्नुपर्ने हो ।

जंगेपिलरभन्दा पूर्वपट्टिको भूभागमा भारतले दसगजा क्षेत्र मिचेर पक्की सडक बनाएको छ । अग्लो पारेर सिमेन्ट ढलान गरेर बनाइएको उक्त बाटोका कारण यसपटकको बाढीमा पनि नेपालीका घरहरू डुबेको पनि सञ्जय साहले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org